बालेन शाहको शपथ ग्रहण: विदेशी पाहुना बोलाउने तयारी छैन, शीतल निवासमा आन्तरिक तयारी तीव्र
काठमाडौँ-आगामी १३ चैतमा हुने भनिएको नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाउने कुनै तयारी नरहेको पाइएको छ। सामाजिक सञ्जालहरूमा छिमेकी देशका प्रधानमन्त्री वा प्रतिनिधिहरू आउने भन्दै चर्चा चले पनि परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले त्यस्तो कुनै विशेष तयारी नभएको स्पष्ट पारेका छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीको शपथ ग्रहणमा वैदेशिक पाहुना बोलाउने गरी अहिलेसम्म कुनै पत्राचार वा समन्वय भएको छैन। शपथ ग्रहणको व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी राष्ट्रपति कार्यालयको हो। राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, “प्रधानमन्त्री कार्यालयबाट १३ चैतमा शपथ हुने जानकारी आएको छ र हामी त्यसकै तयारीमा जुटेका छौँ। तर कुनै देशका सरकार प्रमुख वा प्रतिनिधि आउनेबारे सरकारबाट कुनै जानकारी आएको छैन।”
को-को होलान् सहभागी?
विगतका प्रधानमन्त्रीहरूको शपथ ग्रहणमा अपनाइने परम्परागत शैलीलाई नै यसपटक पनि निरन्तरता दिइने भएको छ। राष्ट्रपति कार्यालयले बिदा हुन लागेका प्रधानमन्त्री, मन्त्रीहरू, पूर्वप्रधानमन्त्रीहरू, संघीय संसद्का सबै सांसदहरू, संवैधानिक निकायका पदाधिकारीहरू, सरकारी सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूलाई निमन्त्रणा पठाउने तयारी गरेको छ। यसका साथै काठमाडौँस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख (राजदूत) हरूलाई पनि समारोहमा आमन्त्रण गरिनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि बाहिरबाट अतिथि बोलाउने कुनै योजना नरहेको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमा फैलिएका हल्लाहरूको खण्डन गर्दै उनले शपथ ग्रहण समारोहलाई आन्तरिक र औपचारिक रूपमै सम्पन्न गर्ने तयारी भइरहेको बताएका छन्। १८२ सिटसहित ऐतिहासिक बहुमत पाएको रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि अहिले देशभरि नै १३ गतेको शपथ ग्रहणलाई विशेष चासोका साथ हेरिएको छ।









प्रतिक्रिया