ऋणको भारीमा थिचिएको नेपाल: ८ महिनामै २ खर्ब ४ अर्बले बढ्यो ऋण, कुल भार २८.७८ खर्ब पुग्यो!

काठमाडौँ- नेपालको सार्वजनिक ऋणले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म (८ महिना) को अवधिमा मात्रै नेपाल सरकारको सार्वजनिक ऋण २ खर्ब ४ अर्ब रुपैयाँले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (PDMO) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिले देशको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

चालू आर्थिक वर्षको सुरुमा अर्थात् गत असार मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। तर, पछिल्लो ८ महिनामा सरकारले विकास निर्माण र प्रशासनिक खर्च धान्नका लागि निरन्तर ऋण लिँदा यो आकार ह्वात्तै बढेको हो। अहिलेको कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँ छ भने बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ पुगेको छ। कुल ऋणमा बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ।

यो वर्ष ऋण बढ्नुमा सरकारले लिएको नयाँ सापट मात्र होइन, अमेरिकी डलर महँगो हुनु पनि मुख्य कारण बनेको छ। नेपाली रुपैयाँको अवमूल्यनका कारण मात्रै नेपाललाई करिब ९८ अर्ब रुपैयाँ थप ऋणको भार थपिएको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋणको आकार नेपाली रुपैयाँमा गणना गर्दा स्वतः बढेको देखिएको हो। हालको कुल ऋणलाई नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) सँग तुलना गर्दा यो ४७.१३ प्रतिशत पुगेको छ।

नेपालको पछिल्लो जनसंख्यालाई आधार मान्ने हो भने अहिले प्रत्येक नेपालीको थाप्लोमा औसत झन्डै ९८ हजार ७ सय रुपैयाँ ऋण पर्न जान्छ। सरकारले यो ८ महिनाको अवधिमा २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ नयाँ ऋण परिचालन गरेको छ। तर, अर्कोतर्फ पुरानो ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ खर्च भइसकेको छ। यसले के देखाउँछ भने सरकारले नयाँ ऋणको ठुलो हिस्सा पुरानै ऋण तिर्नमा प्रयोग गरिरहेको छ, जसले गर्दा देशको आर्थिक सन्तुलनमा चुनौती थपिएको छ।

प्रतिक्रिया

TOP