वर्षाले दाउन्ने सडकखण्ड पूर्ण अवरुद्ध: राति मालवाहक सवारी चलाउन रोक, सिद्धार्थ राजमार्ग पनि ठप्प

नवलपरासी पूर्व- निरन्तरको वर्षाका कारण पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजार नजिकैको ६४ मोडमा सडक विस्तार तथा मर्मत भइरहेको स्थानमा अत्यधिक हिलो र चिप्लो भएपछि सवारी आवागमन ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक (SP) युवराज खड्काका अनुसार शुक्रबारदेखि नै प्रभावित रहेको यस खण्डमा आज बिहानदेखि परेको भारी वर्षाले गर्दा राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। सडकको मर्मत भइरहेको खण्डमा ठूला सवारी साधन चिप्लिने र अड्किने समस्याले गर्दा सडक खुलाउन कठिनाइ भइरहेको छ।

रातिको समयमा ठूला मालवाहक सवारीमा रोक

सडकको जीर्ण अवस्था र वर्षाको जोखिमलाई मध्यनजर गर्दै नारायणघाट–बुटवल सडक योजनाले दाउन्ने खण्डमा रातिको समयमा ठूला मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ। योजनाले एक सूचना जारी गर्दै शुक्रबारदेखि चैत ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्कीवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी चलाउन नपाइने जनाएको हो।

सूचना अनुसार यस्ता सवारी साधनहरूलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको छ। यद्यपि, यात्रुवाहक बस र आकस्मिक सेवाका सवारी साधनहरूलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने कार्यालयले स्पष्ट पारेको छ।

वैकल्पिक मार्ग पनि अवरुद्ध: सिद्धबाबामा पहिरो

दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधनहरूलाई बुटवलबाट सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो। तर, सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डअन्तर्गत सिद्धबाबा क्षेत्रमा पनि पहिरो गएपछि उक्त वैकल्पिक मार्ग समेत अवरुद्ध भएको छ। दुवै प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

सडक विस्तारको काम चलिरहेको बेला भएको वर्षाले गर्दा दाउन्ने खण्डमा यात्रा निकै जोखिमपूर्ण बनेको छ। प्रहरीले अत्यावश्यक कामबाहेक यो सडकखण्ड प्रयोग नगर्न र सडक खुलाउने प्रयास जारी रहेकाले धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

TOP