“निराशा चिर्न लेखेको गीतले सार्थकता पाउँदा खुसी छु”: गीतकार शशि शर्मा मजगैयाँ
काठमाडौँ – नेपाली सङ्गीत र साहित्यमार्फत सामाजिक चेतना फैलाउन सक्रिय प्रखर गीतकार शशि शर्मा मजगैयाँले आफ्नो चर्चित गीत ‘जाग युवा, उठ युवा’ ले वर्तमान राजनीतिक र सामाजिक परिवेशमा वास्तविक सार्थकता पाएको बताएका छन्। देशमा व्याप्त निराशालाई चिर्न र युवाहरूलाई सिर्जनात्मक कार्यमा जोड्न लेखिएको यो गीत यतिबेला युवा पुस्तामाझ एउटा सशक्त अभियानका रूपमा स्थापित भएको छ।
गीतकार मजगैयाँका अनुसार हालै सम्पन्न निर्वाचनबाट ठुलो सङ्ख्यामा युवाहरू जनअनुमोदित भई नीति निर्माणको तहमा पुग्नुले यो गीतको मर्मलाई थप पुष्टि गरेको छ। “मैले यो गीत लेख्दा युवाहरूमा जुन निराशा थियो, त्यसलाई चिरेर आशा जगाउने एउटा सानो प्रयास गरेको थिएँ,” उनले भने, “आज सदनदेखि गाउँसम्म युवा नेतृत्वको जुन लहर देखिएको छ, यसले मेरो शब्द सिर्जनाले वास्तविक सार्थकता पाएको महसुस गराएको छ।”
उनले आफ्नो यो गीत केवल एउटा साङ्गीतिक सिर्जना मात्र नभई समग्र देश बनाउने र युवा शक्तिलाई ‘फुटेर होइन, जुटेर’ राष्ट्रिय समृद्धिको दिशामा अघि बढाउने एउटा वैचारिक अभियान भएको दाबी गरे।
उद्यमशीलता र रोजगारीमा जोड
गीतले युवाहरूलाई विदेश पलायन हुनुको सट्टा स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न र उद्यमशीलतालाई अँगाल्न प्रेरित गर्छ। “हाम्रो देशको युवा शक्ति विदेशमा पसिना बगाइरहेको छ, तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सन्देश यो गीतले दिन्छ,” मजगैयाँ थप्छन्, “सिर्जनात्मक नेतृत्वमार्फत देश बनाउने यस्तो महान् अभियानको हिस्सा बन्न पाउँदा म निकै खुसी र उत्साहित छु।”
यो ऊर्जावान् गीतमा चर्चित गायक शिव परियार र गायिका इन्दिरा जोशीको स्वर रहेको छ, जसले गीतको भावलाई हरेक नेपालीको घर-आँगनसम्म पुर्याउन मद्दत गरेको छ। सङ्गीतकार बीपी वाग्लेको ओझिलो सङ्गीत र सरोज बानियाँको अवधारणा तथा निर्माणमा तयार भएको यो गीतले डिजिटल प्लेटफर्महरूमा पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
वर्तमान समयमा युवाहरूले देखाएको राजनीतिक र सामाजिक सक्रियताले गीतकार मजगैयाँको ‘जाग युवा, उठ युवा’ को सपना विपनामा परिणत हुँदै गएको सङ्केत गर्छ।
गीत














प्रतिक्रिया