इरान-इजरायल युद्धको बाछिटा यूएईसम्म: अस्ट्रेलियाली सैन्य अखडामा खस्यो इरानी क्षेप्यास्त्र

दुबई – इरान र इजरायलबीचको सैन्य द्वन्द्वले अब क्षेत्रीय सीमा नाघेर छिमेकी देशहरूलाई पनि असुरक्षित बनाउन थालेको छ। पछिल्लो घटनाक्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको अस्ट्रेलियाली सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको पुष्टि भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आज बिहान यूएईको अल मिन्हादस्थित अस्ट्रेलियाली सैन्य आधार शिविरमा इरानी क्षेप्यास्त्र प्रहार भएको आधिकारिक जानकारी दिएका छन्।

इरानले इजरायललाई लक्षित गरी चलाएको व्यापक सैन्य कारबाहीका क्रममा एउटा क्षेप्यास्त्र दिशा परिवर्तन भई वा प्राविधिक कारणले यूएईको यो संवेदनशील क्षेत्रमा खस्न पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रधानमन्त्री अल्बानिजले घटनाको पुष्टि गर्दै भनेका छन्, “क्षेप्यास्त्र प्रहार भएको सत्य हो, तर खुसीको कुरा हाम्रा कुनै पनि सैन्य कर्मचारी घाइते भएका छैनन्, सबै सुरक्षित छन्।”

क्षतिको विवरण र तत्कालिन अवस्था

क्षेप्यास्त्र सैन्य अखडा जोड्ने मुख्य सडकमा खसेका कारण त्यहाँ ठुलो विस्फोटपछि सानो आगलागी भएको थियो। उक्त विस्फोटको धक्काले नजिकै रहेका आवास गृह (रेसिडेन्स) र उपचार केन्द्र (मेडिकल सेन्टर) मा सामान्य भौतिक क्षति पुगेको बताइएको छ। सुरक्षाकर्मीहरूले तत्कालै आगो नियन्त्रणमा लिएका थिए भने उक्त क्षेत्रमा अहिले उच्च सतर्कता अपनाइएको छ।

किन चर्कियो द्वन्द्व?

इरानले आफ्ना सुरक्षा प्रमुख अली लारीजानीको हत्याको बदला लिन इजरायलमाथि ‘अप्रेसन’ सुरु गरेको दाबी गरेको छ। तर, इजरायललाई निसाना बनाउँदा छिमेकी मुलुकमा रहेको तेस्रो देशको सैन्य अखडामा क्षेप्यास्त्र खस्नुले पश्चिम एसियाको सुरक्षा सन्तुलनमा नयाँ र गम्भीर चुनौती थपेको छ। यसले यूएई जस्ता तटस्थ बस्न चाहने मुलुकहरूलाई पनि युद्धको रापमा तान्न सक्ने खतरा बढाएको छ।

यो घटनापछि पश्चिम एसिया (मिडल इस्ट) मा रहेका अमेरिका, बेलायत र अन्य पश्चिमा देशका सैन्य आधार शिविरहरूमा ‘हाइ अलर्ट’ जारी गरिएको छ। अस्ट्रेलिया सरकारले आफ्ना नागरिक र सैनिकको सुरक्षाका लागि थप कदम चाल्ने र कूटनीतिक च्यानलमार्फत यसको विरोध गर्ने सङ्केत दिएको छ।

प्रतिक्रिया

TOP