धादिङ बस दुर्घटना: मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १९ जना घाइते
धादिङ- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको भीषण बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराति अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार १७ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा उद्धार टोली परिचालन गरिएको थियो। उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरू समेत रातभर खटिएका थिए। दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्, जसको अवस्था र पहिचान खुल्न बाँकी छ। घाइतेहरूको अहिले धादिङका स्थानीय अस्पताल र थप उपचारका लागि काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।
नदीमा खसेको बसको खोजी र उद्धार कार्य चुनौतीपूर्ण रहे पनि सुरक्षा निकायले तदारुकताका साथ काम गरिरहेका छन्। हालसम्म दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। तीव्र गति वा प्राविधिक गडबडीका कारण बस दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि प्रहरीले यसबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।









प्रतिक्रिया