रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस फर्किए, गगन थापाले गरे स्वागत
हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरी आफ्नो पुरानो घर नेपाली कांग्रेसमा फर्किएका छन् । झन्डै ३० वर्ष राजनीतिक जीवन कांग्रेसमै बिताएर रास्वपा प्रवेश गरेका पराजुली पुन: सोही दलमा फर्किएका हुन् । रास्वपा मकवानपुरले हेटौंडाको हुप्रचौरमा सभा आयोजना गरिरहेकै समयमा सभापति पराजुली सर्लाही पुगेर कांग्रेसका महामन्त्री गगनकुमार थापाको हातबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका हुन् । पराजुलीसहित रास्वपा मकवानपुरका अन्य केही नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए, जहाँ महामन्त्री थापासँगको भेटपछि उनले औपचारिक रूपमा कांग्रेस प्रवेशको निर्णय लिएका हुन् ।
पार्टी परित्यागको घोषणा गर्दै पराजुलीले सामाजिक सञ्जालमार्फत रास्वपाको नेतृत्व शैली र आन्तरिक लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले पार्टीभित्र देखिएका प्रवृत्तिहरूले आफूलाई सोच्न बाध्य बनाएको उल्लेख गर्दै जुन उद्देश्य र आदर्शका साथ पार्टी निर्माणमा लागेको हो, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था देखिएको गुनासो गरे । सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, र आलोचनालाई स्वीकार नगर्ने संस्कारका कारण आन्तरिक लोकतन्त्र कमजोर भएको महसुस गरी आफू निराश बनेको उनले बताएका छन् ।
पराजुली ६ मंसिर २०८१ मा भएको रास्वपाको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रूपमा पुन: सभापति चयन भएका थिए । उनले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए, जहाँ १२ हजार ३९ मत प्राप्त गर्दै उनी तेस्रो स्थानमा रहेका थिए । आसन्न २१ फागुनमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा उनी पुनः उम्मेदवार बन्न चाहन्थे र टिकटका लागि काठमाडौँस्थित केन्द्रीय कार्यालय समेत पुगेका थिए । तर, पार्टीले उनीकै गाउँ मनहरीका २५ वर्षीय प्रशान्त उप्रेतीलाई टिकट दिएपछि पराजुली रित्तो हात फर्कनुपरेको थियो ।
टिकट नपाएपछि असन्तुष्ट बनेका पराजुली केही समयदेखि कांग्रेस मकवानपुरका शीर्ष नेताहरूसँग निरन्तर संवादमा थिए । उम्मेदवारी दर्ताको अघिल्लो दिन रास्वपा सभापति रवि लामिछानेले फोन गरेर उनको त्यागको मूल्यांकन हुने आश्वासन दिए पनि पराजुलीले पुरानै राजनीतिक थलो रोज्ने निर्णय गरे । शालिन र भद्र स्वभावका नेता मानिने पराजुलीको कांग्रेस फिर्तीले मकवानपुरको पश्चिमी क्षेत्रमा कांग्रेसलाई थप बल पुग्ने आकलन गरिएको छ ।








प्रतिक्रिया