जनमत पार्टीलाई झट्का: रौतहट–२ का उम्मेदवार सोनु कुशवाहाद्वारा राजीनामा, ‘परिवारवाद’ हाबी भएको आरोप
रौतहट । निर्वाचनको सरगर्मी बढिरहेका बेला डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई रौतहटमा ठूलो झट्का लागेको छ। रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका २८ वर्षीय युवा नेता सोनु कुशवाहाले आइतबार पार्टीबाटै राजीनामा दिएका छन्।
कुशवाहाले पार्टीभित्र चरम व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। परिवर्तनको एजेन्डा बोकेर जनमत पार्टीबाट उम्मेदवारी दिए पनि पार्टीले युवाहरूको भावना बुझ्न नसकेको र दमन हुँदा समेत मौन बसेको उनको गुनासो छ। “पार्टीभित्रै जनताको आवाज सुन्ने वातावरण छैन भने त्यहाँ बस्नुको कुनै अर्थ रहँदैन,” कुशवाहाले भने।
राजीनामा दिने क्रममा उनले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्नहरू उठाएका छन्। उम्मेदवार बनाइए पनि केन्द्रबाट कुनै समन्वय नभएको र नेतृत्व केवल आफ्नै तथा दाइको क्षेत्रमा मात्रै केन्द्रित भएको उनको आरोप छ। कुशवाहाका अनुसार पार्टीमा आन्तरिक असन्तुष्टि, एकलौटी निर्णय प्रक्रिया र विकासका मुद्दामा स्पष्ट मार्गचित्र नभएका कारण उनले यो कदम चालेका हुन्।
सोनु कुशवाहा एक्लैले मात्र नभई सो क्षेत्रका अन्य स्थानीय नेताहरूले पनि सामूहिक रूपमा राजीनामा दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि रौतहट–२ बाट २६ जना चुनावी मैदानमा छन्। तर, उम्मेदवारीबाट पछि हटेका कुशवाहाले अब कसलाई समर्थन गर्ने भन्नेबारे भने अझै मुख खोलेका छैनन्।








प्रतिक्रिया