कांग्रेसको ‘घर फर्क’ अभियान: दल छाडेकालाई फर्कन प्रवक्ता चालिसेको विशेष आह्वान
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी परित्याग गरी अन्य दलमा आबद्ध भएका पूर्व नेता तथा कार्यकर्ताहरूलाई पुनः आफ्नै ‘घर’ फर्कन औपचारिक आह्वान गरेको छ। आइतबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचनको मुखमा कांग्रेसप्रति देशव्यापी आकर्षण बढेको दाबी गर्दै यस्तो आग्रह गरेका हुन्।
प्रवक्ता चालिसेले विभिन्न पार्टीका शीर्ष नेतृत्वदेखि कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गर्ने लहर चलेको उल्लेख गर्दै सबैलाई सम्मानजनक ढंगले पार्टीमा भित्र्याउन कांग्रेस तयार रहेको बताए। “हामी पुनः आह्वान गर्न चाहन्छौं— घर छाडेका साथीहरू फर्किनुस्,” उनले भने, “अन्य पार्टीमा रहेका साथीहरू पनि कांग्रेसमा जोडिनुस् र मुलुकको नवनिर्माणमा सरिक हुनुहोस्।”
प्रवक्ता चालिसेका अनुसार पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा लगायतका विभिन्न दलबाट ठूलो संख्यामा नेता-कार्यकर्ताहरू कांग्रेसमा समाहित भइरहेका छन्। कतिपय दलका समानुपातिक उम्मेदवारहरू नै आफ्नो पुरानो आबद्धता तोडेर कांग्रेस प्रवेश गरेको उनले जानकारी दिए। यसले आसन्न निर्वाचनमा कांग्रेसको पकड अझ बलियो हुने विश्वास पार्टीले लिएको छ।
सोही अवसरमा कांग्रेसले पछिल्लो समय विभिन्न स्थानमा दलका झन्डा जलाउने र उच्छृङ्खल गतिविधि गर्ने घटनाप्रति कडा आपत्ति जनाएको छ। यस्ता लोकतन्त्र विरोधी गतिविधिहरूको निन्दा गर्दै प्रवक्ता चालिसेले तत्काल यस्ता कार्य रोक्न र राजनीतिक संस्कार प्रदर्शन गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।








प्रतिक्रिया