रापती समाज काठमाडौँ र साउथ वेस्टर्न स्टेट कलेजबीच छात्रवृत्ति सहमति
काठमाडौँ- रापती समाज काठमाडौँ र साउथ वेस्टर्न स्टेट कलेज, बसुन्धरा काठमाडौँबीच रापती समाजले सिफारिस गरेका सिमान्तकृत तथा पिछडिएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने विषयमा औपचारिक सहमति भएको छ। उक्त सहमति रापती समाज काठमाडौँका पूर्व अध्यक्ष तथा संरक्षक शशि शर्मा मजगैयाँको अगुवाइ तथा संयोजनमा सम्पन्न भएको हो।
सहमतिपछि रापती समाज काठमाडौँका अध्यक्ष गोविन्द मधुर आचार्य र साउथ वेस्टर्न स्टेट कलेजका निर्देशक गणेश महराले रापती क्षेत्रको शैक्षिक विकासमा यस सहमतिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। समाजका संरक्षक शशि शर्मा मजगैयाँले गरिबी तथा सामाजिक–आर्थिक कारणले गुणस्तरीय शिक्षा र उच्च शिक्षाको पहुँचबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई शिक्षामा पहुँच दिलाउने उद्देश्यका साथ समाजले निरन्तर रूपमा आफ्नो दायित्व निर्वाह गर्दै आएको बताउनुभयो।
साउथ वेस्टर्न स्टेट कलेजका निर्देशक गणेश महरा दाङ घोराहीका स्थायी बासिन्दा हुनुहुन्छ। उहाँ साउथ वेस्टर्न कलेजसहित विभिन्न शैक्षिक संस्थाहरूमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। साउथ वेस्टर्न स्टेट कलेज काठमाडौँ हाल एक स्तरीय र विश्वसनीय शैक्षिक संस्थाका रूपमा स्थापित भइसकेको छ।
रापती समाज काठमाडौँले यसअघि पनि देशका विभिन्न स्थानमा रहेका शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको छ। रापती क्षेत्रका शिक्षाविद्हरूलाई एकीकृत गर्दै शिक्षाको क्षेत्रमा आमूल र बृहत् कार्यक्रम अघि बढाउने दीर्घकालीन सोच रहेको समाजका अध्यक्ष गोविन्द मधुर आचार्यले जानकारी दिनुभयो। समाजका विभिन्न विधामध्ये शैक्षिक विधालाई विशेष प्राथमिकतामा राखी अभियान तथा कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।
आचार्यको नेतृत्वमा समाजमार्फत संगीत र साहित्य क्षेत्रमा समेत राष्ट्रिय स्तरका महत्वपूर्ण कार्यक्रमहरू निरन्तर आयोजना हुँदै आएका छन्। अध्यक्ष आचार्य आफैँ राष्ट्रिय स्तरका सुप्रसिद्ध गायक तथा संगीतकार हुनुहुन्छ। यस्तै, संरक्षक मजगैयाँको नेतृत्वमा रापती क्षेत्रको शैक्षिक विकासका लागि लामो समयदेखि बहस, पैरवी, छात्रवृत्ति तथा पाठ्यसामग्री उपलब्ध गराउने कार्य निरन्तर भइरहेको पनि जनाइएको छ।
सहमतिअनुसार स्नातक तहमा बीबीएम, बीसीए, बीएसडब्लु र बीबीएस तथा स्नातकोत्तर तहमा एमबीए, एमबीएस र एमए (अंग्रेजी) संकायमा छात्रवृत्ति प्रदान गरिनेछ। साथै प्लस टु तहका विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकी संकायमा तीन जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ। स्नातक तथा स्नातकोत्तर तहमा तीन–तीन जना विद्यार्थीलाई ६० प्रतिशत आंशिक छात्रवृत्ति प्रदान गरिनेछ भने सम्पूर्ण तहका सबै विद्यार्थीहरूलाई ३० प्रतिशतसम्मको छात्रवृत्ति सुविधा लागू गरिनेछ।
यस सहमतिले सिमान्तकृत तथा पिछडिएका समुदायका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।








प्रतिक्रिया