रापती समाजको सीमान्तकृत तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौँ — रापती समाज काठमाडौँ र महाऋषि कलेजबीच रापती क्षेत्रका सीमान्तकृत तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले सहमति पत्रमा हस्ताक्षर भएको छ। काठमाडौँमा आयोजित एक समारोहका बीच सम्पन्न उक्त सहमतिअनुसार आर्थिक रूपमा कमजोर तथा प्रतिभावान् विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याइनेछ।
सहमति अनुसार रापती समाज काठमाडौँले सिफारिस गरेका विद्यार्थीमध्ये दुई जनालाई पूर्ण छात्रवृत्ति, दुई जनालाई ६० प्रतिशत छात्रवृत्ति तथा अन्य सम्पूर्ण विद्यार्थीलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने व्यवस्था गरिएको छ। यो सुविधा व्यवस्थापन, वाणिज्य, आइटी लगायतका संकायमा अध्ययनरत तथा अध्ययन गर्न चाहने विद्यार्थीका लागि लागू हुनेछ।
उक्त सहमति रापती समाज काठमाडौँका पूर्व अध्यक्ष तथा हाल संरक्षक रहनुभएका अधिवक्ता शशि शर्मा मजगैयाँको पहल तथा अगुवाइमा सम्भव भएको हो। मजगैयाँले विगतदेखि नै सीमान्तकृत तथा गरिब समुदायका विद्यार्थीलाई शिक्षाको पहुँचबाट वञ्चित हुन नदिन समाजमार्फत निरन्तर भूमिका खेल्दै आउनुभएको छ। आवश्यक पोशाक तथा शैक्षिक सामग्री उपलब्ध गराउनेदेखि लिएर शैक्षिक सहयोगका विविध कार्यक्रमहरूमा उहाँको सक्रियता उल्लेखनीय रहँदै आएको छ।
सहमति पत्रमा रापती समाज काठमाडौँका अध्यक्ष गोविन्द मधुर आचार्य र महाऋषि कलेजका निर्देशक दिपेन्द्र जोशीले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा सहभागी रापतिवासीहरूले यस पहललाई अत्यन्तै सराहनीय कदमका रूपमा मूल्यांकन गर्दै आगामी दिनहरूमा पनि रापती समाजले क्षेत्रको शैक्षिक उन्नयनका लागि अझ सशक्त कार्यक्रमहरू ल्याउने विश्वास व्यक्त गरेका छन्।








प्रतिक्रिया