आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावका कारण मुलुकका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना देखिएको छ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशभरका अधिकांश क्षेत्रमा बादल लाग्ने प्रक्षेपण गरिएको छ। विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने देखिएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली एक-दुई स्थानमा भने भारी वर्षासहित हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा मौसम बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा हुन सक्नेछ। मौसममा आएको यो फेरबदलका कारण दैनिक जनजीवन र यात्रामा पर्न सक्ने प्रभावप्रति सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।








प्रतिक्रिया