घोडेजात्रा विशेष: घोडाको टापले कुल्चाएर ‘राक्षस’ दबाउने अनौठो परम्परा, उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौँ – प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने परम्परागत घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा हर्षोल्लासका साथ मनाइँदैछ। जात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ।
आजको मुख्य आकर्षण काठमाडौँको मुटु टुँडिखेलमा देखिनेछ, जहाँ नेपाली सेनाले विशेष समारोहको आयोजना गर्दछ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने परम्परा छ। सेनाका तर्फबाट घोडादौडका साथै अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम र विविध युद्धकलाहरूको साहसिक प्रदर्शन गरिन्छ।
गुरुमापा राक्षस र घोडेजात्राको रोचक कथा
घोडेजात्रा केवल मनोरञ्जनको साधन मात्र नभई यसको पछाडि एउटा डरलाग्दो प्राचीन जनश्रुति लुकेको छ। जनविश्वास अनुसार, टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा ‘गुरुमापा’ नामको राक्षस बस्ने गर्दथ्यो, जसले सहरका बालबालिकाहरूलाई समातेर खाने गर्थ्यो। स्थानीयवासीहरूले अनेकौँ उपाय लगाएर उक्त राक्षसको संहार त गरे, तर उसको प्रेतात्मा फेरि ब्युँझिएर बालबालिकालाई अनिष्ट गर्न सक्ने भय कायमै रह्यो।
यही डर मेटाउन प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडा दौडाउने परम्परा सुरु भएको मानिन्छ। घोडाको टापले कुल्चाएर गुरुमापाको आत्मालाई जमिनमुनि दबाउने र बालबालिकालाई सुरक्षा दिने विश्वासका साथ यो जात्रा मनाइन्छ। सहरका बालबालिकामाथि कुनै खतरा नहोस् भनी आजै राति उक्त रुखको फेदमा गुरुमापालाई विशेष खानेकुरा (तयोंमरी र मासु) दिने चलन समेत छ। यसो गर्दा वर्षभरि बालबालिका सुरक्षित रहने विश्वास गरिन्छ।
ललितपुरमा ‘एक्लो घोडा’ को दौड
काठमाडौँमा तामझामका साथ जात्रा मनाइरहँदा ललितपुरमा पनि यसको छुट्टै मौलिकता छ। ललितपुरमा एउटा मात्र घोडा (प्रायः एउटा आँखा नदेख्ने भनिने) दौडाएर घोडेजात्रा मनाउने पुरानो परम्परा छ। काठमाडौँको टुँडिखेलमा सेनाले प्रदर्शन गरिरहँदा पाटनको बालकुमारी क्षेत्रमा भने स्थानीय संस्कृति अनुसार यो पर्व मनाइन्छ।
आजको दिन नेवार समुदायमा ‘पाहाँ चह्रे’ पर्वको रूपमा पनि विशेष महत्त्व छ। घर-घरमा पाहुनाहरूलाई निमन्त्रणा गरेर भोज खुवाउने र टोल-टोलमा रहेका लुँमढी अजिमा लगायतका विभिन्न शक्तिपीठहरूको पूजा गर्ने गरिन्छ।
आधुनिकतासँगै घोडेजात्राको स्वरूपमा केही परिवर्तन आए पनि यसले बोकेको सांस्कृतिक र पौराणिक महत्त्व भने आज पनि उत्तिकै जीवित छ।









प्रतिक्रिया