ब्रेकिङ: ‘जेन-जी’ दमन प्रकरणमा तत्कालीन सिडिओ छवि रिजाल पक्राउ, बानेश्वरमा गोली चलाउन आदेश दिएको गम्भीर आरोप
काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले ‘जेन-जी आन्दोलन’ दमन गर्नेहरूमाथि कारबाहीको शृङ्खलालाई थप तीव्र बनाएको छ। सोही क्रममा आन्दोलनका बेला काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई प्रहरीले आज सुविधानगरबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक उच्च अधिकृतका अनुसार, रिजाललाई उनकै निवास नजिकैबाट नियन्त्रणमा लिई हिरासतमा राखिएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी लगत्तै तत्कालीन प्रशासनका प्रमुख पात्र रिजाल पक्राउ पर्नुले सरकार दोषी कसैलाई पनि नछाड्ने रणनीतिमा रहेको प्रस्ट पारेको छ।
२०८२ भदौ २३ र २४ गते भएको युवाहरूको विशाल प्रदर्शनका क्रममा बानेश्वरमा केही किशोरहरूको ज्यान जाने गरी प्रहरीले गोली चलाएको थियो। उक्त घटनामा घातक हतियार प्रयोग गर्न आदेश दिएको भन्दै रिजालको चर्को आलोचना हुँदै आएको छ। यद्यपि, गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा बयान दिँदै रिजालले आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नदिएको दाबी गरेका थिए। तर, आयोगको प्रतिवेदनले उनलाई दोषी किटान गर्दै फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि उनी कानुनी फन्दामा परेका हुन्।
बालेन शाहको पहिलो मन्त्रिपरिषद् बैठकले कार्की आयोगको प्रतिवेदनलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो ‘अपरेसन’ सुरु भएको हो। तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरू र फिल्डमा खटिएका कमान्डरहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने सरकारको तयारी छ। रिजालको गिरफ्तारीलाई पीडित परिवारहरूले ‘न्यायको पहिलो खुड्किलो’ का रूपमा स्वागत गरेका छन्।







प्रतिक्रिया