ओली पक्राउको विरोधमा महेश बस्नेतको ‘हुंकार’: “प्रतिशोधको राजनीतिविरुद्ध आन्दोलन सुरु”
काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेलगत्तै नेकपा एमालेले देशव्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ। एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत कार्यकर्ताहरूलाई सडकमा उत्रिन आह्वान गर्दै बालेन सरकारको यो कदमलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन्।
पक्राउको विरोधमा लेख्दै सचिव बस्नेतले भनेका छन्— “लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न र प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन हामी आजैदेखि प्रदर्शनमा उत्रिन्छौँ।” उनले २०८२ भदौको ‘जेनजी आन्दोलन’ का क्रममा निरीह बनेको नेपाल प्रहरी अहिले आफ्ना नेताहरूलाई पक्राउ गर्न ‘हजारौँको संख्यामा’ परिचालन भएको देख्दा दुख लागेको टिप्पणी गरेका छन्।
बस्नेतले अगाडि थपेका छन्— “जुन प्रहरीले आफ्नै चौकी र सरकारी सम्पत्ति जोगाउन सकेन, उही प्रहरी आज लोकतन्त्रका लागि लडेका नेताहरूलाई समात्न बहादुरी देखाइरहेको छ।”
एमालेको प्रदर्शनको घोषणासँगै काठमाडौँका मुख्य प्रशासनिक क्षेत्रहरू (सिंहदरबार, बालुवाटार र भद्रकाली) मा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। एमालेले केही समयमै प्रदर्शनको विस्तृत कार्यतालिका सार्वजनिक गर्ने बताएको छ। कार्यकर्ताहरू काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित भद्रकालीस्थित प्रहरी परिसरतर्फ बढ्ने सम्भावना देखिएपछि सम्भावित मुठभेडलाई रोक्न दङ्गा नियन्त्रण प्रहरी तैनाथ गरिएको छ।
बालेन सरकारको अडान: “कानुन सबैका लागि बराबर”
यता, प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङले भने ‘गौरीबहादुर कार्की आयोग’ को प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको संवैधानिक दायित्व भएको बताएका छन्। “जेनजी आन्दोलन” मा ज्यान गुमाएका युवाहरूका परिवारले न्याय पाउनुपर्ने अडानमा सरकार अडिग देखिएको छ।







प्रतिक्रिया