प्रधानमन्त्री सुशीला कार्कीको रवि लामिछानेलाई सुझाब: ‘देश रोएको छ, युवाले मुहारमा मुस्कान ल्याउनुपर्छ’
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै नेतृत्वमा सरकार गठनको तयारीलाई अन्तिम रूप दिँदै गर्दा पार्टी सभापति रवि लामिछाने र अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री कार्कीले नयाँ नेतृत्वलाई देश र जनताको भावना बुझेर काम गर्न महत्त्वपूर्ण सुझाव दिएकी छिन्।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिन्, “अहिले देश रोएको छ। तिमी युवाहरूसँग देशवासीले ठुलो अपेक्षा गरेका छन्। तिमीहरूले अब देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ।” उनले राजनीतिमा चुनौतीहरू धेरै हुने भए पनि इमानका साथ अघि बढे अपेक्षित नतिजा हात पार्न सकिने विश्वास दिलाइन्। साथै, उनले आलोचना गर्नेहरूलाई शब्दले भन्दा पनि कामले जवाफ दिन लामिछानेलाई सुझाव दिएकी छिन्।
रवि लामिछानेको सम्मान: ‘तपाईँको चट्टानी अडानले निकास पायो’
जवाफमा सभापति लामिछानेले अन्तरिम प्रधानमन्त्री कार्कीको कार्यकाल र उनले लिएका निर्णयहरूको उच्च प्रशंसा गरे। उनले भने, “तपाईँको चट्टानी अडानका कारण नै देशले यो निकास पाएको हो। तपाईँको योगदान मुलुकले सधैँ सम्झिनेछ।” लामिछानेले नयाँ सरकार गठन भए पनि कार्कीको मार्गदर्शन र अनुभवको निरन्तर अपेक्षा राखेको बताए।
सभापति लामिछानेले वर्तमान अन्तरिम सरकारले आफ्नो कार्यकालको अन्तिम दिनसम्म गर्ने सबै निर्णयहरूमा रास्वपाको कुनै आपत्ति नरहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, “यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन। हामी चाहन्छौँ कि यो सरकारले अन्तिम दिनसम्मै ढुक्क भएर काम गरोस्।” निर्वाचनमा १८२ सिटको ऐतिहासिक बहुमत ल्याएको रास्वपाले आगामी १३ चैतमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरिरहेको सन्दर्भमा यो भेटघाटलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।









प्रतिक्रिया