सेयर बजारमा पहिरो: नेप्से २७ अङ्कले घट्दा सबै उपसूचक राताम्मे, साढे ६ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक २७.५९ अङ्कले ओरालो लागेर २६१४.५५ को बिन्दुमा ओर्लिएको हो । यो अघिल्लो कारोबार दिनको तुलनामा १.०४ प्रतिशतको गिरावट हो ।

आज बजारमा तीव्र उतारचढावका बीच ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर ७२ हजार १०४ पटक खरिदबिक्री भएको छ । नेप्सेका अनुसार दिनभरिको कारोबारबाट कूल रु ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ बराबरको कारोबार भएको छ ।

सबै समूहमा गिरावट, व्यापार समूहमा उच्च क्षति आज बजारका सबै १३ वटै उपसूचकहरू राताम्मे देखिएका छन्, जसले लगानीकर्ताको मनोबल कमजोर रहेको संकेत गर्छ । सबैभन्दा बढी गिरावट व्यापार समूहमा ३.५९ प्रतिशतको देखिएको छ । यस्तै, जलविद्युत् समूह १.८१, विकास बैंक १.४१, र उत्पादन तथा प्रशोधन समूह १.०२ प्रतिशतले घटेका छन् । बैंकिङ, वित्त, होटल तथा पर्यटन, र बिमा समूहमा पनि गिरावट देखिएको छ ।

कुन कम्पनीको अवस्था कस्तो ? बजार ओरालो लागे पनि सलपा विकास बैंक लिमिटेडको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेको छ । अर्कोतर्फ, सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा वुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड देखिएको छ, जसको सेयर मूल्य ८.९२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो । उक्त कम्पनीको रु ६३ करोड ४२ लाखभन्दा बढीको सेयर किनबेच भएको छ । बजारमा देखिएको यो गिरावटले लगानीकर्ताहरूलाई ‘पर्ख र हेर’ को स्थितिमा पुर्‍याएको छ ।

प्रतिक्रिया

TOP