‘नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ’ : स्वास्थ्य बीमालाई एकीकृत गर्ने कांग्रेसको नयाँ योजना

‘नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ’ : स्वास्थ्य बीमालाई एकीकृत गर्ने कांग्रेसको नयाँ योजना

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनपछि स्वास्थ्य सेवालाई पूर्णतः निःशुल्क र व्यवस्थित बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ। बिहीबार काठमाडौँमा पार्टीको चुनावी ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्दै महामन्त्री गगनकुमार थापाले कुनै पनि नेपाली नागरिकले जस्तोसुकै कडा रोग लाग्दा पनि उपचार अभावमा मर्नु नपर्ने गरी ‘फ्रि हेल्थ केयर’ को व्यवस्था मिलाइने घोषणा गर्नुभयो।

स्वास्थ्य बीमाको पुनर्संरचना र एकीकृत प्रणाली महामन्त्री थापाले कांग्रेसकै पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल अलपत्र परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले अब स्वास्थ्य सेवाको खर्च धान्नका लागि छुट्टाछुट्टै कोषहरू हुनुको सट्टा एउटा ‘एकीकृत प्रणाली’ (Integrated System) विकास गरिने बताउनुभयो। “हामीले स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने सोचेका छौँ। एकीकृत प्रणालीमार्फत स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा सञ्चालन गरिनेछ, जसले गर्दा अस्पताल पुग्दा नागरिकले खल्तीबाट पैसा झिक्नु पर्ने छैन,” थापाले स्पष्ट पार्नुभयो।

भवन मात्र होइन, जनशक्ति र व्यवस्थापनमा जोड अस्पताल भनेको केवल ठूला भवन र भौतिक संरचना मात्र नभएको उल्लेख गर्दै थापाले दक्ष जनशक्तिको उचित परिचालनमा जोड दिनुभयो। उहाँका अनुसार स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित बनाउने, उपचारको खर्च घटाउने र स्वास्थ्य जनशक्तिलाई नेपालमै टिकाइराख्ने ठोस कार्ययोजना प्रतिज्ञा पत्रमा समेटिएको छ। “हाम्रो प्राथमिकता अस्पतालका भवन बनाउने मात्र होइन, भएका अस्पतालहरूलाई कसरी व्यवस्थित र जनमैत्री बनाउने भन्नेमा छ,” उहाँले भन्नुभयो।

घरदैलोमै स्वास्थ्य सेवाको अवधारणा कांग्रेसले आफ्नो नयाँ योजनामा विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै ‘घरमै स्वास्थ्य सेवा’ को अवधारणा ल्याएको छ। अशक्त र वृद्धवृद्धाले अस्पतालसम्म धाउनुपर्ने सास्ती अन्त्य गर्दै आधारभूत सेवा घरदैलोमै पुर्‍याउने थापाको दाबी छ। उहाँले भन्नुभयो, “नेपालमा निःशुल्क स्वास्थ्य सेवा सम्भव छ र यसका लागि आवश्यक जनशक्ति र संयन्त्र अहिलेदेखि नै तयार पार्नुपर्छ। हामीले यसमा स्पष्ट मार्गचित्र बनाएका छौँ।”

प्रतिक्रिया

TOP