एमालेका प्रभावशाली नेता रामवीर मानन्धरसहित ७८ जना कांग्रेस प्रवेश: चुनावी माहोलमा ठूलो हेरफेर

काठमाडौँ । आगामी निर्वाचनको मुखमा नेकपा एमालेका पुराना नेता तथा पूर्व सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार काठमाडौँको राष्ट्रिय सभा गृहमा आयोजित ‘प्रतिज्ञा पत्र’ (घोषणापत्र) माथिको प्रश्नोत्तर कार्यक्रमका बीच मानन्धरलाई कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका हुन्। काठमाडौँ क्षेत्र नम्बर ७ बाट दुई पटक सांसद निर्वाचित भएका मानन्धरको कांग्रेस प्रवेशलाई उपत्यकाको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रश्नोत्तर कार्यक्रम लगत्तै पार्टी प्रवेश

कांग्रेसले आफ्नो चुनावी प्रतिबद्धता पत्रबारे सर्वसाधारण र विज्ञहरूसँग अन्तरक्रिया गर्न राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरेको थियो। महामन्त्री गगन थापाले प्रतिज्ञा पत्रका १० भिजनबारे सहभागीहरूको प्रश्नको जवाफ दिइसकेपछि पार्टी प्रवेशको कार्यक्रम सुरु भएको थियो। सोही मञ्चबाट मानन्धरले एमालेसँगको लामो सहकार्य अन्त्य गर्दै कांग्रेसको ‘समुन्नत नेपाल’ को एजेन्डामा साथ दिने घोषणा गरे।

मानन्धरसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन्। त्यसै गरी, नेकपा एमाले रसुवाका जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालको नेतृत्वमा रसुवाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्। पार्टीका अनुसार रसुवा र काठमाडौँबाट गरी जम्मा ७८ जना प्रभावशाली नेता–कार्यकर्ताहरूले बिहीबार कांग्रेसको सदस्यता लिएका हुन्।

निर्वाचनको ठीक अगाडि एमाले र नेकपाका स्थापित नेताहरू कांग्रेस प्रवेश गरेपछि चुनावी अङ्कगणितमा फेरबदल आउने संकेत देखिएको छ। विशेष गरी रसुवामा एमालेको नेतृत्व सम्हालिरहेका ढकाल र काठमाडौँमा बलियो पकड भएका मानन्धरको बहिर्गमनले एमालेलाई धक्का पुग्ने विश्लेषण गरिएको छ। पार्टी प्रवेश गराउँदै महामन्त्री गगन थापाले कांग्रेसको ‘प्रतिज्ञा’ मा विश्वास गरेर आउने सबैलाई पार्टीमा उचित जिम्मेवारी र सम्मान दिइने बताए।

प्रतिक्रिया

TOP