सरकार बनेको १०० दिनमै सहकारीको पैसा फिर्ता गर्ने रास्वपाको बाचा: यस्तो छ फिर्ता गर्ने ‘मोडल’

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनेको सय दिनभित्रै सहकारी संस्थाका बचतकर्ताहरूको रकम फिर्ता गर्ने महत्वाकांक्षी बाचा गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको ‘नीतिगत प्रस्थानका १०० आधार’ सहितको बाचापत्रमा सहकारी संकट समाधानलाई प्राथमिकताका साथ उठाइएको हो। आम नागरिकको पसिनाको कमाइ सुरक्षित गर्न सरकार गठन भएको पहिलो १०० दिनभित्रै साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने पार्टीले जनाएको छ।

एकीकृत बचत सुरक्षा कोषको अवधारणा

सहकारीको बचत सुरक्षित रूपमा फिर्ता गराउन रास्वपाले ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने योजना अघि सारेको छ। बाचापत्रका अनुसार, राज्यका तर्फबाट स्थापना गरिने यस कोषले संकटग्रस्त घोषित सहकारीका बचतकर्ताहरूलाई प्राथमिकताका आधारमा भुक्तानी दिने व्यवस्था मिलाउनेछ। यस प्रक्रियामा सबैभन्दा पहिले साना बचतकर्ताहरूलाई प्राथमिकता दिइने र क्रमशः सबैको रकम फिर्ता गरिने उल्लेख छ। यसले वर्षौँदेखि सडकमा आन्दोलित सहकारी पीडितहरूलाई राहत दिने रास्वपाको दाबी छ।

थुनेर होइन, सम्पत्ति परिचालन गरेर पैसा फिर्ता

रास्वपाले सहकारी सञ्चालकहरूलाई केवल जेल हाल्नु मात्र समस्याको समाधान नभएको स्पष्ट पारेको छ। बाचापत्रमा भनिएको छ, “हाम्रो उद्देश्य सञ्चालकहरूलाई जेल हाल्नु मात्र होइन, बरु बचतकर्ताको पैसा फिर्ता गराउनु हो।” यसका लागि पार्टीले नयाँ नीति अघि सारेको छ, जसमा यदि सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता गर्न तयार भए उनीहरूका लागि मिलापत्रको कानुनी बाटो खोलिनेछ। निश्चित समय सीमा र पूर्ण ग्यारेन्टीका साथ उनीहरूलाई थुना बाहिरै रहेर आफ्नो सम्पत्ति परिचालन र ऋण असुली गरी बचतकर्ताको पैसा तिर्ने अवसर दिइने बाचापत्रमा उल्लेख छ।

कर्णालीबाटै चुनावी शङ्खघोष

पछाडि पारिएको कर्णालीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको यस बाचापत्रमा आर्थिक वृद्धिका साथै सुशासनलाई विशेष जोड दिइएको छ। सभापति रवि लामिछानेले यो बाचापत्र केवल चुनावी नारा मात्र नभई जनतासँग गरिएको ‘नागरिक करार’ भएको बताएका छन्। सहकारी ठगीको आरोप झेलिरहेका लामिछानेले आफ्नै नेतृत्वको पार्टीको बाचापत्रमार्फत सहकारी पीडितको पक्षमा यस्तो ठोस योजना ल्याउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। रास्वपाले ५ देखि ७ वर्षभित्र १०० खर्बको अर्थतन्त्र बनाउने र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्‍याउने अर्को ठूलो लक्ष्य पनि राखेको छ।

प्रतिक्रिया

TOP