‘काठमाडौँको जस्तै कर्णालीको सभ्यता पनि जोगाउँछौँ’ : सुर्खेतमा बालेन शाहको प्रतिवद्धता
सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौँको ऐतिहासिक सभ्यता जोगाए जस्तै कर्णालीको मौलिक सभ्यता र पहिचानलाई पनि रास्वपाले संरक्षण गर्ने प्रतिवद्धता जनाएका छन्। सुर्खेतमा रास्वपाको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै शाहले कर्णालीको इतिहास र यसको गहिराइलाई अहिलेसम्मका सरकार र पुराना दलहरूले बुझ्न नसकेको आरोप लगाए।
सम्बोधनका क्रममा शाहले कर्णालीको भौगोलिक र प्राकृतिक विशिष्टताको चर्चा गरे। देशकै ठूलो जिल्ला, विशाल नदी, ठूलो गाउँपालिका र सबैभन्दा गहिरो ताल (रारा) रहेको यो भूमि अथाह सम्भावनाले भरिएको उनले उल्लेख गरे। “कर्णालीको यो गहिराइलाई आजसम्म कुनै सरकार वा पार्टीले बुझ्न सकेनन्। त्यो गहिराइ अब रास्वपाले बुझ्न चाहन्छ,” उनले भने। उनले रारा ताललाई ‘स्वर्गकी अप्सरा’ र यार्सागुम्बालाई ‘सुन’सँग तुलना गर्दै यहाँका बहुमूल्य सम्पदाको उचित कदर रास्वपाले गर्ने बताए।
सभ्यता र मौलिकताको संरक्षण
बालेन शाहले कर्णालीलाई केवल गरिबीको नजरले मात्र नभई ‘सभ्यताको जननी’का रूपमा हेरिनुपर्नेमा जोड दिए। सिञ्जा उपत्यका नेपाली खस भाषाको उद्गम स्थल रहेको स्मरण गराउँदै उनले यहाँको आफ्नै भाषा, नाचगान, चित्रकला, जात्रा र लिपिको संरक्षण गर्नु रास्वपाको प्राथमिकता रहने स्पष्ट पारे। उनले थपे, “यी सबै मिलेर एउटा सभ्यता बन्छ। हामीले काठमाडौँमा जसरी त्यहाँको सभ्यता र सम्पदा जोगाएका छौँ, त्यसरी नै कर्णालीको गौरवमय सभ्यतालाई पनि जोगाउन चाहन्छौँ।”
कर्णालीको कृषि उत्पादन देशभर नपुगेकोमा उनले चिन्ता व्यक्त गरे। कर्णालीको अर्गानिक स्याउ र मार्सी चामललाई कम्तीमा पनि चितवन र झापासम्म पुर्याउने र देशव्यापी बजार विस्तार गर्ने रास्वपाको योजना रहेको उनले सुनाए। यसअघिका नेताहरूले कर्णालीको भोकमरी, मातृ मृत्युदर, गरिबी र पीडालाई विश्वबजारमा ‘बेचेर’ राजनीति गरेको तर जनताको जीवनस्तर बदल्न ठोस काम नगरेको उनको कडा टिप्पणी थियो।
आफ्नो सम्बोधनको अन्त्यमा शाहले कर्णालीको पर्यटन र कृषिको विकास नै समृद्धिको आधार भएको बताए। उनले कर्णालीवासीसँग आशीर्वाद माग्दै भने, “कर्णालीको सपना बोकेर जान पाऊँ। अब तपाईंका सपनाहरू हाम्रा सपना हुन्। यहाँको सम्भावना र खेतीपाती वृद्धि गर्ने हाम्रो मुख्य आशा र लक्ष्य हो।” करिब चार मिनेटको संक्षिप्त तर मर्मस्पर्शी सम्बोधनमार्फत शाहले कर्णालीको मत मात्र होइन, यहाँको मन र माटोको सम्मान गर्ने बाचा गरे।








प्रतिक्रिया