‘कर्णाली अब नेताको पार्किङ लट बन्दैन’ : सुर्खेतमा रवि लामिछानेको हुङ्कार

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशलाई अब कुनै पनि राजनीतिक दल वा नेताको ‘पार्किङ लट’ (कार्यकर्ता र नेता थन्काउने ठाउँ) बन्न नदिने घोषणा गरेका छन्। फागुन २१ गते हुने उपनिर्वाचनको प्रचारप्रसारका लागि सुर्खेतमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कर्णालीको वर्तमान प्रदेश संरचनामा आमूल सुधार (रेट्रोफिट) गर्नुपर्ने आवश्यकता औँल्याए। उनले स्पष्ट पार्दै भने, “हामीले प्रदेश खारेज गर्ने भनेका छैनौँ, तर यसलाई बेढङ्गको होइन, जनताले डेलिभरी पाउने गरी ढङ्गको बनाउनुपर्छ।”

सभापति लामिछानेले आसन्न निर्वाचनलाई सामान्य मतदानको दिन मात्र नभई नेपाली पुस्ताको भाग्य र भविष्य बदल्ने ऐतिहासिक अवसरको रूपमा चित्रण गरे। चुनावले निकास दिँदैन भन्ने आलोचना गर्नेहरूप्रति लक्षित गर्दै उनले भने, “निकास दिने माध्यम चुनाव नै हो। यदि कसैलाई आन्दोलनबाट मात्रै परिवर्तन आउँछ भन्ने लाग्छ भने म कर्णालीबाटै चुनौती दिन चाहन्छु– रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस्। तर हामी रगतको थोपा बगाएर होइन, जनताको मतबाटै शान्तिपूर्ण परिवर्तन चाहन्छौँ।”

कर्णालीसँगको आफ्नो व्यक्तिगत र भावनात्मक सम्बन्धको चर्चा गर्दै लामिछानेले आफू सञ्चारकर्मी हुँदा कालिकोटमा अस्पताल स्थापनाका लागि गरेको संघर्षको स्मरण गरे। उनले कर्णालीलाई दशकौँदेखि राज्यको मूलधारबाट पछाडि पारिएकोमा दुःख व्यक्त गर्दै अब सोही बाचा पूरा गर्न रास्वपाले कर्णालीको माटोबाटै ‘बाचापत्र’ (घोषणापत्र) सार्वजनिक गरेको बताए। पुराना दलका नेताहरूले हेलिकप्टर चढेर आश्वासन मात्र बाँडेको तर जनताको पीडा नबुझेको उनको आरोप थियो।

त्यस्तै, लामिछानेले रास्वपालाई ५ वर्षका लागि स्पष्ट बहुमत र काम गर्ने अवसर दिन मतदातासँग अपिल गरे। उनले भने, “पाँच वर्ष हामीलाई स्थिर सरकार चलाउन दिनुस्, यदि हामीले बोलेका काम पूरा गर्न सकेनौँ भने अर्को चुनावमा हामीलाई राजनीतिक रूपमा घण्टी बजाएर बिदा गरिदिनुस्।” उनले आफू र वरिष्ठ नेता बालेन शाहको आँटलाई देश बदल्ने उर्जाको रूपमा लिन आग्रह गर्दै यो ऐतिहासिक घडीमा ‘घण्टी’ मा मतदान गरेर नयाँ इतिहास रच्न सुर्खेतवासीलाई आह्वान गरे।

प्रतिक्रिया

TOP