धनगढीमा बालेनको हुङ्कार: “पुराना दलले सपनामा डोजर चलाए, हामी सिंहदरबार बदल्न आएका हौँ”

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले फागुन २१ गते हुने निर्वाचनलाई देशको ‘स्वर्णिम इतिहास’ लेख्ने अवसरका रूपमा उपयोग गर्न मतदाताहरूसँग आग्रह गरेका छन्। सुदूरपश्चिमको राजधानी धनगढीमा बुधबार आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै दुवै नेताले पुराना राजनीतिक शक्तिहरूको ‘सिन्डिकेट’ तोड्न आह्वान गरे।

बालेनको आक्रोश: ‘बडिमालिका र खप्तड हुँदाहुँदै किन स्वीट्जरल्याण्ड ?’

सभालाई छोटो तर आक्रामक शैलीमा सम्बोधन गर्दै वरिष्ठ नेता बालेन शाहले देशका प्राकृतिक स्रोतहरूको उपेक्षा गरेर पुराना दलहरूले सपना मात्र बाँडेको आरोप लगाए। उनले भने, “स्वीट्जरल्याण्डको बाउ बडिमालिका यहीँ छ, पराकाष्ठा रामारोशन यहीँ छ, खप्तड यहीँ छ। तर हामी माल पाएर चाल नपाउने भयौँ।” उनले २० वर्षसम्म पनि बाटो नबनाउने प्रवृत्तिलाई कटाक्ष गर्दै रास्वपा सरकारमा गए कसैलाई काखा र पाखा नगरी सबैका लागि साझा पूर्वाधार बनाउने प्रतिबद्धता जनाए।

शाहले आफूहरू भोट माग्न नभई काम माग्न आएको उल्लेख गर्दै भने, “तपाईंहरू हामीलाई भोट नदिए पनि हुन्छ, तर कामको लिस्ट दिनुस्। हामी काम गरेर देखाउँछौँ। रास्वपाले सुदूरपश्चिमको गीत काठमाडौँका चोकचोकमा गुञ्जाएर मात्र यो क्षेत्रलाई केन्द्रसँग वास्तविक रूपमा जोड्नेछ।”

रवि लामिछानेको चेतावनी: ‘बेथितिको सटर अब बन्द हुनुपर्छ’

सभापति रवि लामिछानेले फागुन २१ गतेलाई इतिहास बदल्ने दिनका रूपमा चित्रण गरे। उनले मतदाताको मनमा घण्टी बजिसकेको दाबी गर्दै अब मतपत्रमा छाप लगाउन मात्र बाँकी रहेको बताए। लामिछानेले भने, “जनताको अधिकार र सुदूरपश्चिमको मुद्दालाई भोट बैंक मात्र बनाउने युगको अन्त्य अब हुनुपर्छ। कि हाम्रो सटर बन्द गरिदिनुस्, कि यिनीहरू (पुराना दल) को कुशासन र बेथितिको सटर बन्द गरिदिनुस्।”

लामिछानेले रास्वपाले पहिलोपटक जनतासँग ‘कन्ट्रयाक्ट’ (करार) गरेको जिकिर गर्दै वाचा पूरा नगर्ने नेताले सजाय पाउनुपर्ने नयाँ पद्धतिको सुरुवात हुने बताए। उनले सुदूरपश्चिमका भूमिहीनको समस्या र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई रास्वपाले स्थायी रूपमा समाधान गर्ने भन्दै देश बदल्नका लागि एकपटक सबैलाई घर फर्कन र मतदानमा सहभागी हुन आह्वान गरे।

सुदूरपश्चिममा रास्वपाको बढ्दो प्रभाव

कांग्रेस र कम्युनिस्टको गढ मानिने सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै रास्वपाले धनगढीबाट आफ्नो चुनावी अभियानको सुरुवात गरेको हो। सभामा कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। सभामा बोल्ने क्रममा दुवै नेताले सिंहदरबार बदल्ने र सुदूरपश्चिमका जनताको सपनामा डोजर चलाउने पुराना शक्तिहरूलाई जवाफ दिने बेला आएको बताए।

प्रतिक्रिया

TOP