दाङ २ मा चुनावी सरगर्मी: प्रलोपा उम्मेदवार प्रतीक अधिकारीद्वारा नेकपाका आचार्यलाई समर्थन
दाङ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार ई. प्रतीक अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार घोराहीमा पत्रकार सम्मेलन आयोजना गर्दै अधिकारीले आफ्नो उम्मेदवारी निष्कृय बनाएको र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्मल आचार्यलाई समर्थन गर्ने घोषणा गरेका हुन्।
पुरानै घर (नेकपा) मा फिर्ती इन्जिनियर अधिकारीको राजनीतिक यात्रा तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट सुरु भएको थियो। माओवादी केन्द्र, एकीकृत समाजवादी र जनार्दन शर्माको प्रगतिशील अभियान लगायतका शक्तिहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेपछि केही समय उनी असन्तुष्ट रहँदै प्रलोपामा आबद्ध भएका थिए। तर, निर्वाचनको मुखमा उनले प्रलोपा परित्याग गरी पुनः आफ्नै पुरानो राजनीतिक घर नेकपामा फर्किएको घोषणा गरेका छन्। उनले वामपन्थी शक्तिहरूको एकता र सुदृढीकरणका लागि आफूले आचार्यलाई सघाउने निर्णय लिएको बताएका छन्।
निर्मल आचार्यको पक्षमा बढ्दो समर्थन दाङ क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार निर्मल आचार्यको पक्षमा समर्थन जुट्ने क्रम बढ्दै गएको छ। अधिकारीले समर्थन गर्नुभन्दा दुई दिनअघि मात्रै आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर विकले पनि आफ्नो उम्मेदवारी निष्कृय बनाएर आचार्यलाई नै समर्थन गर्ने घोषणा गरेका थिए। साना दलका उम्मेदवारहरूले एकपछि अर्को गर्दै समर्थन जनाएपछि यस क्षेत्रमा आचार्यको स्थिति बलियो बन्दै गएको विश्लेषण गरिएको छ।
त्रिपक्षीय भिडन्त र थपिएको चुनौती यसपटक दाङ २ मा मुख्य गरी नेकपाका निर्मल आचार्य, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। साना दलका उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएर ठूला दललाई समर्थन गर्दा चुनावी अंकगणितमा फेरबदल आउने सम्भावना छ। विशेषगरी युवा र प्राविधिक क्षेत्रमा प्रभाव राख्ने ई. प्रतीक अधिकारीको समर्थनले आचार्यलाई थप ऊर्जा प्रदान गरेको छ।









प्रतिक्रिया