क्यालिफोर्नियाको पहाडी क्षेत्रमा भीषण हिमपहिरो: १० स्कीयर बेपत्ता, ६ जनाको जीवितै उद्धार
वासिङ्टन डीसी- अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित लेक टाहोको उत्तरपश्चिममा पर्ने क्यासल पिक क्षेत्रमा मङ्गलबार बिहान गएको विनाशकारी हिमपहिरोमा परी १० जना स्कीयरहरू अझै बेपत्ता छन्। शक्तिशाली हिउँदे आँधीका बीच फ्रग लेक आसपासको दुर्गम पहाडी भूभागमा गएको उक्त पहिरोमा परी १६ जनाको टोली फसेको थियो। उद्धार टोलीहरूले अहिलेसम्म ६ जनालाई जीवितै फेला पारे पनि अन्यको खोजी कार्य प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण बनेको छ।
स्थानीय समयअनुसार मङ्गलबार बिहान ११:३० बजे नेभाडा काउन्टी शेरिफको कार्यालयमा ९११ मार्फत हिमपहिरोमा मानिसहरू पुरिएको खबर प्राप्त भएको थियो। ‘ब्ल्याकबर्ड माउन्टेन गाइड्स’ नामक कम्पनीमार्फत तीन दिने ब्याककन्ट्री स्की यात्रामा निस्किएको उक्त टोलीमा १२ जना पर्यटक र ४ जना गाइडहरू सहभागी थिए। यात्राको अन्तिम दिन सुरक्षित स्थानतर्फ फर्किँदै गर्दा उनीहरू अचानक आएको हिमपहिरोको चपेटामा परेका हुन्।
नेभाडा काउन्टी शेरिफ कार्यालयकी प्रवक्ता एस्ले क्वाड्रोसका अनुसार, बेपत्ताहरूको खोजीका लागि ४६ जना भन्दा बढी तालिमप्राप्त उद्धारकर्मीहरू परिचालन गरिएको छ। जसमा बोरेल माउन्टेन रिसोर्ट र टाहो डोनरका विशेष स्की टोलीहरू, स्नोक्याट र स्नोमोबाइल टोलीहरू सहभागी छन्।
यद्यपि, सिएरा नेभाडा क्षेत्रमा जारी भीषण हिउँआँधी, तीव्र हावा र अर्को हिमपहिरो जान सक्ने उच्च जोखिमले गर्दा उद्धारकर्मीहरूलाई घटनास्थलसम्म पुग्न निकै कठिन भइरहेको छ। उद्धार अधिकारीहरूले ६ जना जीवितै भेटिएका स्कीयरहरूलाई आपत्कालीन बेकन (Beacon) मार्फत सम्पर्कमा रहन र सम्भव भएसम्म अस्थायी आश्रय बनाएर सुरक्षित बस्न निर्देशन दिएका छन्।“उनीहरूले एउटा पालको सहायताले अस्थायी आश्रय बनाएर आफूलाई जोगाइरहेका छन् र हामी उनीहरूसम्म पुग्न संघर्ष गरिरहेका छौँ,” उद्धारमा संलग्न एक अधिकारीले बताए।
खराब मौसम र उच्च जोखिमको चेतावनी
सिएरा एभालेन्च सेन्टरले मंगलबार बिहानैदेखि उक्त क्षेत्रमा “उच्च हिमपहिरो जोखिम” को चेतावनी जारी गरेको थियो। तीव्र गतिमा थुप्रिएको ताजा हिउँ र तेज हावाका कारण पहाडी ढलानहरू अस्थिर बनेका थिए। यस साता क्यालिफोर्नियाभरि चलेको शक्तिशाली आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ भने हिमाली क्षेत्रका धेरै राजमार्गहरू र स्की रिसोर्टहरू समेत बन्द गरिएका छन्।
अधिकारीहरूले यो सिजनकै सबैभन्दा खतरनाक हिमपहिरो हुनसक्ने भन्दै पर्वतीय क्षेत्रमा अनावश्यक यात्रा नगर्न र ब्याककन्ट्री स्कीइङका लागि जोखिम नमोल्न सर्वसाधारणलाई कडा चेतावनी दिएका छन्। बेपत्ता १० जनाको अवस्था अझै अज्ञात रहेकाले उद्धार कार्यलाई बुधबार बिहानैदेखि पुनः तीव्रता दिइएको छ।








प्रतिक्रिया