आर्थिक अनियमितताको गम्भीर आरोप लगाउँदै रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माद्वारा पार्टी परित्याग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद र कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्। बुधबार आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै शर्माले पार्टीको नेतृत्व तहमाथि गम्भीर प्रश्नहरू उठाएकी हुन्। बारा निवासी शर्मा हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यका रूपमा सक्रिय थिइन्।

शर्माले पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीभित्र मौलाएको आर्थिक अनियमितताअपारदर्शी निर्णय प्रक्रियालाई बताएकी छन्। उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् कि पार्टीका पछिल्ला निर्णयहरू नीति, विचार र योग्यताभन्दा पनि आर्थिक चलखेलबाट बढी प्रभावित भएका छन्। “संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन भएन, विधि र विधानविपरीतका क्रियाकलापहरू हाबी भए,” उनले लेखेकी छिन्, “मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको देख्दा मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच पुगेको छ।”

रास्वपाले अघि सारेको “जान्नेलाई छान्ने” र “सक्षम युवाको नेतृत्व” भन्ने नारा केवल प्रचारबाजीमा मात्र सीमित भएको शर्माको आरोप छ। आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्दा पार्टीको स्थापनाकालीन मूल्य र विधानलाई लत्याइएको उनले दाबी गरेकी छन्। बारा–२ मा जसपा नेपालबाट आएका चन्दनकुमार सिंहलाई उम्मेदवार बनाएपछि पार्टीमा लामो समयदेखि योगदान पुर्‍याएका स्थानीय नेताहरू किनारामा परेको र आर्थिक लेनदेनका आधारमा टिकट वितरण भएको संकेत उनले गरेकी छन्।

शर्माको असन्तुष्टि समानुपातिक सूची हेरफेरबाटै सुरु भएको देखिन्छ। पार्टीभित्र भएको ‘प्राइमरी’ निर्वाचनमा उनले तेस्रो स्थान हासिल गरेकी थिइन्, तर पार्टी नेतृत्वले अन्तिम सूची बनाउँदा उनलाई सातौँ नम्बरमा पुर्‍याएको थियो। त्यतिबेलै उनले सूचीमा बस्न अस्वीकार गरेकी थिइन्। मधेसमा रास्वपाको जग बसाल्न र संगठन विस्तारमा नेतृत्वदायी भूमिका खेलेकी शर्माले अन्तिम समयमा आएर पार्टी छाड्नुले मधेस प्रदेशमा रास्वपालाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

TOP