रास्वपा त्यागेर कांग्रेस छिरेका दीपक महतोलाई गगन थापाको विशेष जिम्मेवारी: चुनावी माहोल बनाउने कमान्ड महतोको हातमा
काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोह गरी नेपाली कांग्रेसमा प्रवेश गरेका सर्लाहीका प्रभावशाली नेता दीपक महतोलाई कांग्रेसले चुनावी कमान्डको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस सभापति गगन थापाले महतोलाई पार्टीको चुनावी माहोल बनाउने र राजनीतिक समन्वय गर्ने विशेष जिम्मेवारी तोकेका हुन्।
सभापति थापाद्वारा जारी पत्रअनुसार महतोलाई विभिन्न निर्वाचन क्षेत्रमा रहेका उम्मेदवारहरूसँग सहकार्य गर्ने, रणनीतिक पहल कदमी लिने र चुनावी वातावरणलाई कांग्रेसको पक्षमा पार्ने मुख्य कार्यभार दिइएको छ। विशेषगरी वैकल्पिक राजनीति र अन्य राजनीतिक धारमा आबद्ध रहेका व्यक्ति तथा समूहहरूसँग संवाद गरी उनीहरूलाई कांग्रेसको मूलधारमा जोड्ने र सकारात्मक माहोल सिर्जना गर्ने जिम्मेवारी महतोको काँधमा आएको छ।
महतोको राजनीतिक यात्रा उतारचढावपूर्ण रहेको छ। सुरुमा डा. बाबुराम भट्टराईको साथ छाडेर रास्वपामा प्रवेश गरेका उनी सर्लाही क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने अन्तिम तयारीमा थिए। तर, रास्वपाले उनलाई टिकट नदिएर नरेन्द्र साहलाई उम्मेदवार बनाएपछि उनले पार्टीभित्रै विद्रोह गरेका थिए। टिकट वितरणको दिन पार्टी नेतृत्वको विरुद्धमा उत्रिएका महतोलाई प्रहरीले केही समय नियन्त्रणमा समेत लिएको थियो।
पार्टीभित्रको चरम असन्तुष्टि र नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै महतोले अन्ततः रास्वपा परित्याग गरी कांग्रेस रोजेका थिए। मधेसको राजनीतिमा राम्रो पकड भएका र युवाहरूमाझ लोकप्रिय मानिने महतोलाई गगन थापाले दिएको यो नयाँ जिम्मेवारीले सर्लाही मात्र नभई समग्र मधेस प्रदेशमा कांग्रेसको चुनावी रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया