पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पारस बम पक्राउ, भिडियो भाइरल भएपछि प्रहरीको एक्सन
काठमाडौं-काठमाडौंको सडकमा पैदलयात्रीमाथि अभद्र व्यवहार गरी मुक्का प्रहार गर्ने कार चालक पारस बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसएसपी नवराज अधिकारीका अनुसार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएलगत्तै प्रहरीले अनुसन्धान सुरु गरी उनलाई पक्राउ गरेको हो। हाल उनलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि ट्राफिक कार्यालयमा राखिएको छ।
घटना चप्पल कारखाना अगाडिको हो, जहाँ कारबाट ओर्लिएका बमले पैदलयात्रीलाई अश्लील गाली गर्दै शारीरिक आक्रमण गरेका थिए। सार्वजनिक भएको भिडियोमा उनले पैदलयात्रीलाई मुक्का हानेको स्पष्ट देखिन्छ भने पछि एक महिलाले पनि ती पैदलयात्रीलाई गालीगलौज गरेको सुनिन्छ। सडकमा गुडिरहेका सवारी साधन र अन्य व्यक्तिकै अगाडि भएको यो उच्छृङ्खल घटनाको भिडियो भाइरल बनेपछि सर्वसाधारणले दोषीलाई कडा कारबाही गर्न माग गर्दै आएका थिए।
सडक अनुशासन र मानवीय संवेदनशीलता विपरीत पैदलयात्रीमाथि कुटपिट गर्ने यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले तत्काल कदम चालेको हो। ट्राफिक प्रहरीले सडकमा हुने यस्ता खालका अभद्र व्यवहार र हिंसात्मक गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।












प्रतिक्रिया