नेप्सेमा २० अंकको गिरावट: परिसूचक घट्दा कारोबार रकम भने ८ अर्ब माथि
काठमाडौं –नेप्से परिसूचकमा मंगलबार दोहोरो अंकको गिरावट देखिए पनि कारोबार रकममा भने उत्साहजनक सुधार आएको छ। सोमबारको तुलनामा कारोबार रकम करिब ४२ करोड रुपैयाँले बढ्दै ८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ, जबकि नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा बन्द भएको छ। यसदिन बजारमा ३५४ वटा धितोपत्रका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच भएका छन्। समग्र बजार ओरालो लागे पनि साल्पा विकास बैंक र सुपर माई हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्दै क्रमशः ३६३ र ७३१.१० रुपैयाँ कायम भएको छ।
बजारमा सूचीकृत २१४ कम्पनीको सेयर मूल्य घट्दा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.३८ प्रतिशत गुमाएका छन्। सिटिजन सम्मुनत योजनाको मूल्य पनि ८.३० प्रतिशतले घटेर ९.१७ रुपैयाँमा झरेको छ। कारोबारका आधारमा रिडी पावर ५३ करोड ३६ लाख रुपैयाँको खरिद-बिक्रीसहित शीर्ष स्थानमा रह्यो भने आखुँखोला जलविद्युत ४४ करोड ५२ लाखको कारोबारका साथ दोस्रो सूचीमा रह्यो।
समूहगत परिसूचकतर्फ १३ मध्ये ११ वटा समूह घटेका छन्, जसमा वित्त समूहमा २.११ प्रतिशतको उच्च गिरावट देखिएको छ। व्यापार र म्युचुअल फण्ड समूहमा भने सामान्य सुधार देखिएको छ। ४२ कम्पनीको मूल्य बढ्दा ६ वटाको स्थिर रहेको यस दिनको बजारले लगानीकर्तामा केही दबाब सिर्जना गरे पनि बढ्दो कारोबार रकमले बजारमा तरलता र सक्रियता कायमै रहेको संकेत गरेको छ।












प्रतिक्रिया