लोकप्रिय सर्जक शर्मा कांग्रेसको कला विभागको सदस्यमा मनोनीत
काठमाडौं-नेपाली लोक तथा दोहोरी क्षेत्रका अब्बल गायक तथा सर्जक चन्द्र शर्मा नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागको सदस्यमा मनोनीत भएका छन् । उनलाई कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सो पदमा मनोनीत गरेका हुन् ।
दाङमा जन्मिएका लोकप्रिय सर्जक शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत हुन् । उनी हाल सो प्रतिष्ठानमा सल्लाहकार समितिमा सक्रिय छन् ।यसका साथै गीत सङ्गीतका सर्जकहरुको रोयल्टी संकलन र व्यवस्थापन गर्ने सङ्गीत रोयल्टी संकलन समाजमा पनि उनी उपाध्यक्ष पदमा रहि रोयल्टी अभियानमा समेत सक्रिय छन् । लामो समयदेखि गीत सङ्गीतका क्षेत्रमा योगदान दिएका शर्माले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।
कला क्षेत्रमा आफूले दिएको योगदान स्वरुप कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागमा मनोनीत हुन पाउँदा कला क्षेत्रमा थप जिम्मेवारी थपिएकोे उनले बताए ।
गायक शर्मासँगै सो विभागमा अन्य ९ जना पनि मनोनीत भएका छन् ।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा गाायक शर्मासहित १० जना सदस्यमा सभापति देउवाले मनोनीत गरेका हुन् ।
मनोनीत हुनेहरुमा चन्द्र शर्मा दाङ, यज्ञराज उपाध्याय अछाम, राजेन्द्र खत्री काठमाडौं, रविन्द्र खड्का काभ्रेपलाञ्चोक, रमेश कोइराला चितवन, सरोज भण्डारी तनहुँ, रिसबदेव घिमिरे ललितपुर, शान्ति सदा सिरहा, देशु सुहाङ्ग पाँचथर र गणेश हमाल दैलेखका रहेका छन् ।
प्रतिक्रिया