विश्वकप क्रिकेटमा आज नेपाल र बङ्ग्लादेश भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज सोमबार  बिहान सवा ५ बजे नेपाल र बङ्ग्लादेश खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुनेछ । यी दुई समूह टी–२० विश्वकपमा दस वर्षपछि फेरि आमनेसामने हुन लागेका छन् ।

दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरिइसकेको नेपालका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । बङ्ग्लादेशको भने ‘सुपर–८’ मा पुग्ने सम्भवना कायमै छ ।

यदि बङ्ग्लादेशले नेपाललाई हराएमा ऊ सोझै दोस्रो चरणमा प्रवेश गर्नेछ । तर बङ्ग्लादेश नेपालसँग हारेमा समूहको अर्काे अर्थात् नेदरल्यान्ड्स र श्रीलङ्काबीचको खेलको नतिजा कुनुपर्ने हुन्छ । यो खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई ठूलै अन्तरमा हराए ऊ दोस्रो चरणमा पुग्ने सम्भावना कायमै रहनेछ ।

सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ ।नेदरल्यान्ड्स र श्रीलंकाबिचको खेल भने सोमबार बिहान ०६ः१५ बजे सुरु हुनेछ । यो खेल पनि क्यारेबियन राष्ट्र सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट स्टेडियममा खेलिने छ । यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा श्रीलंका आठौँ र बंगलादेश नवौँ स्थानमा आसीन छन् । उक्त वरीयतामा नेदरल्यान्ड्स १५औँ र नेपाल १७औँ स्थानमा रहेका छन् ।

यसअघि नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

भारत, अमेरिका, अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, अफगानिस्तान, वेस्ट इन्डिज र दक्षिण अफ्रिका दोस्रो चरणमा पुगिसकेका छन् । दोस्रो चरणको खेल आउँदो बुधवारदेखि शुरु हुनेछ ।

प्रतिक्रिया

TOP