संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक:काङ्ग्रेस

काठमाण्डौ – संघीय संसद्को अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा  प्रधानमन्त्री सकारात्मक भएको र कुरा मिल्ने सङ्केत देखिएको  बताए ।

छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता लेखकले आफूहरूले पूर्व अडान राखेको र प्रधानमन्त्री सकारात्मक भएको बताए । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । कांग्रेसले जेठ १ गते आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने राष्ट्रपतिको काममासमेत अवरोध गर्ने बताएपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतालाई छलफलका लागि बोलाएका हुन् । प्रमुख सचेतक लेखकले कांग्रेसले भोलि बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने बताए।

प्रतिक्रिया

TOP