विद्यालयमा बालक कुटपिट प्रकरण : भित्रभित्रै मिलाउन खेल

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थिति लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले पाँच कक्षामा पढ्ने एक बालकलाई मरणासन्न हुने गरी कुटपिट गरेको एक साता बढी बित्यो तर पीडित पक्षले हालसम्म उजुरी दिएका छैनन् ।

प्रिन्सिपल महर्जन भित्रभित्रै मिलाउन लागेकाले पीडित परिवारले उजुरी नदिएको खुलासा भएको छ । पीडित बालक गरिब परिवारको भएकाले निःशुल्क पढाइदिने गरी घटना मिलाउन खोजिएको पाइएको छ । सोही पालिकाका एक जनप्रतिनिधिले पनि विद्यालय र अभिभावकबीच मिलापत्र हुन लागेको बताए । ‘अभिभावकसँग विद्यालयले मिलापत्र गरेको कुरा आएको छ,’ एक जनप्रतिनिधिले भने, ‘पीडित अभिभावक हाम्रो सम्पर्कमा आउनुभएको छैन ।’

यस विषयमा जनप्रतिनिधिहरू कोही पनि खुलेर बोल्न चाहेनन् । उनीहरू घटनाबारे जानकारी नभएको र उजुरी नपरेको भन्दै पन्छिनन् । नगर प्रमुख गजेन्द्र महर्जनकै वडामा पर्छ उक्त स्कुल । तर, महर्जन पनि हालसम्म पीडित परिवार उजुरी दिन नआएको र आफूलाई केही जानकारी नभएको बताउँछन् । ‘उजुरी नपरेपछि केही थाहा छैन । हामीलाई जानकारी पनि छैन,’ उनी भन्छन् ।

पालिकाका एक कर्मचारी भने नगर प्रमुख र उपप्रमुख दुवै जनालाई घटनाबारे जानकारी गराएको बताउँछन् । ‘सामाजिक सञ्जाल र मिडियामा आएपछि प्रमुख र उपप्रमुखलाई जानकारी गराएका छौँ,’ नगरका एक कर्मचारी भन्छन् ।

पालिकाको न्यायिक समितिको संयोजक र बाल अधिकार हेर्ने अधिकार नगर उपप्रमुखलाई छ । तर उपप्रमुख मुना अधिकारी कुटपिट घटना प्रहरीले हेर्ने बताउँछिन् । ‘उजुरी आएको छैन । लिखित नआइ कसरी हेर्ने ? विद्यालयमा गएर भन्ने कुरा भएन । परिवार सम्पर्कमा आउन चाहेन,’ उनी भन्छिन्, ‘कुटपिटको घटना प्रहरीले हेर्ने हो ।’

पीडित पक्षले चापागाउँ प्रहरी वृतमा निवेदन भने दिएका पाइएको छ । ‘कुटपिट भएको निवेदन परेको छ । जाहेरी नपरेकाले कारबाही प्रक्रिया अगाडि बढेको छैन,’ ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाहले भने, ‘जाहेरी पर्ने बित्तिकै कारबाही गर्छौं ।’ निवेदनमा घटनाबारे सामान्य जानकारी दिइन्छ भने जाहेरीमा कानुनी रित पुर्‍याइन्छ ।

उक्त घटनलाई राष्ट्रिय मानव अधिकार आयोगले पनि अनुसन्धान गरिरहेको छ । विद्यालयले पीडित अभिभावक र विद्यार्थीसँग मिलापत्र गराउन खोजेको सूचना आयोगका अधिकारीहरूलाई पनि आएको छ । तर, आयोग पीडितले न्याय र यातना दिने शिक्षकलाई उन्मुक्ति दिन नहुने अडानमा छ ।

‘यो अमानवीय हो, हामीले पनि अनुसन्धान गरिरहेका छौँ । पीडितले न्याय पाउनुपर्छ । यातना दिने शिक्षकले उन्मुक्ति पाउने भन्ने हुँदैन,’ आयोगका सचिव मुरारी प्रसाद खरेलले भने, ‘पीडित बालकलाई पढाउनु पनि पर्छ । तर, अपराधीलाई उन्मुक्ति दिन मिल्दैन । प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’

 

प्रतिक्रिया

TOP