राँटो छोडिरहने ‘दोख’
कुनै कुराको जति लामो पर्खाइ भयो, उति धेरै अपेक्षा बढ्छ । ‘दोख’ फिल्मसँग मेरा धेरै अपेक्षा थिए ।
यो विषयमा फिल्म बन्दैछ भन्ने थाहा पाएदेखि आएका पोस्टर, ट्रिजर र ट्रेलर सबैले कुतकुत्याएका थिए । श्रमण मुकारुङको शब्द र झुमा लिम्बूको स्वरमा बनेको ‘रातैले बुन्छ’ गीतले भित्रैबाट हल्लाएको थियो । नेपाली चलचित्र हेरेर तृप्त हुने रहर ‘दोख’ को पर्खाइसँगै झाँगिएको थियो । तर, त्यति अपेक्षासाथ पर्खिएको फिल्म हेरिसक्दा केही अपेक्षा पूरा भए । धेरै अधुरै रहे ।
०००
फिल्मको सुरुवाती ट्रिटमेन्टले अपेक्षा मेटाउने संकेत नगरेको हैन । नयाँ गाउँमा शिक्षक भएर आएको रोनित पात्र चौतारामा एक्लै बसेको छ । एकछिनमा ऊ एकजना बालकलाई देख्छ । बोल्न खोज्छ । तर, बालक ऊसँग बोल्दैन । उसको अनुहारमा नयाँ मान्छे देख्दाको संशय छ । ऊ दौडिएर हराउँछ । एकछिनमा केही मानिसहरू आउँछन् र उसको आँखामा पट्टी बाँधेर लिई जान्छन् । कोही नभएको दृश्यबाट झुरुप्प मान्छे भेटिन केही बेर नै लाग्दैन । सामान्य लागेको बालक पात्र सुराकी भएको पत्तो लाग्न समय नै लाग्दैन । सामान्य लागेको ठाउँ असामान्य हुन केही नै बेर लाग्दैन ।
यस्तो १० वर्ष चलेको युद्धको बेलामा थियो । त्यस बेला कति बेला के हुन्छ, कसैलाई थाहा थिएन । गाउँमा नयाँ मान्छे आउँदा सबैका आँखा चनाखो हुन्थे । त्यो बेला को कसका लागि काम गर्छ, केही पनि थाहा हुँदैनथ्यो । कसैसँग सिधा बोल्ने अवस्था थिएन । फिल्मले युद्धताकाको त्यस्तो संशयपूर्ण समयलाई समातेर यात्रा थाल्छ । रोनितलाई सोधपुछ गरिन्छ । शिक्षकको कामभन्दा ज्यादा पार्टीले चाहेको कुरा पढाउन भनिन्छ । ऊ स्कुलमा हाजिरी गर्छ । कक्षामा बाङ्गो बसेको ब्ल्याकबोर्डमार्फत जर्जर स्कुलको अवस्था देखाइन्छ ।
त्यसपछि फिल्म फुटबलमा पुग्छ । एक जना वृद्ध फुटबल हेर्न पुगेको रोनितलाई केही प्रश्न सोध्छन् । सामान्य चिनजान गर्दै गर्दा उनले सोधेका प्रश्नले उनको माओवादी विचारधारा प्रतिबिम्बित गर्छ । उनी सामान्य मान्छे मात्रै हैनन् भन्ने स्थापित गर्छ । त्यो कुरा रोनितलाई पनि शंका हुन्छ । तर, यसरी सुरु भएको कसिलो संशयको ग्राफ लामो समय अडिन पाउँदैन । गाउँ वनको विवादमा जान्छ । फुटबलबाट गाउँको झगडा सल्ट्याउने कुरा हुन्छ । झगडा सुरु हुने बेलासम्म सुन्दर तरिकाले बढिरहेको कथा र पात्र त्यहाँबाट धरखराउन थाल्छ । उपकथाहरू एकअर्कामा राम्रोसँग अडिन पाउँदैनन् । पात्रहरू एक अर्कासँगको सम्बन्ध र घर्षणसँग हुर्किन पाउँदैनन् । कुनै पात्र उठ्छन् । तिनले सुन्दर केही गर्छन् । तर, त्यसको निरन्तरता फिल्मका अघिल्ला दृश्यहरूमा छुटिजान्छ । कथाको द्वन्द्व कुनै ठूलो अप्ठ्यारोमा पर्दैन । यस्तो लाग्छ– त्यो द्वन्द्व फिल्ममा हुनु थियो । त्यसलाई कथाकार र निर्देशकले चाहेको जसरी देखाइनु थियो ।
माओवादी जनयुद्धको विशाल क्यानभासमा त्यतिका धेरै पात्र र कथालाई भन्ने मौका बनाएर पनि ‘दोख’ तिनलाई राम्रोसँग बुन्न नसकेर अल्झिन्छ । आफैँले सुरु गरेको कथाको आफ्नै धागोमा पटकपटक अल्झिएर गाँठो पर्छ । चरित्रको ग्राफ जोतेको ठाउँमा राँटो छुटेजसरी छुट्दै जान्छ । तर, त्यसबीचमा प्राविधिक रूपमा र निर्देशकीय रूपमा गरिएका केही कामहरूले भने प्रभाव छोडिरहन्छन् ।
०००
प्रतिक्रिया