काेलकाताकाे स्टुडियोमा मोहम्मद रफीसँगै मेरो बुबाको फोटो देखेँ : ज्ञानु राणा 

नेपाली लोक संगीत र साहित्यको आधार तयार पार्न धर्मराज थापाको महत्त्वपूर्ण योगदान छ । कास्कीको बाटुलेचौरमा १९८१ साल साउन १ गते जन्मिएका थापाले नेपाली लोक संगीत र साहित्यलाई विश्वव्यापी पहिचान दिलाउन योगदान पुर्‍याएका थिए । गन्धर्व जाति र सारङ्गीलाई नेपाली समाज र संगीतको मूलप्रवाहीकरण गर्ने जस पनि उनैलाई जान्छ । थापाकी छोरी गायिका ज्ञानु राणाका अनुसार गीत गाउने र लेख्ने प्रतिभा उनमा बाल्यकालदेखि नै थियो ।

तत्कालीन समयमा पोखरामा हुने धार्मिक अनुष्ठानहरूमा भजन गाएर उनी संगीतक्षेत्रमा प्रवेश गरेका थिए । छोरी ज्ञानुका अनुसार आफ्नो गायन क्षमतालाई अगाडि बढाउन धर्मराजले काठमाडौंमा पनि गीतसंगीतको आफ्नो लगावलाई विस्तार गर्दै लगे ।

२०१३ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु र राजा महेन्द्र उपस्थित कार्यक्रममा धर्मराजले स्टेजमा गीत गाएका थिए । उनले गाएको गीतबाट प्रभावित भएर महाकवि लक्ष्मीप्रसाद देवकोटाले उनलाई ‘बुलबुल सान’ पदवी दिएको ज्ञानु बताउँछिन् । त्यही वर्ष नै राजा महेन्द्रले थापालाई ‘जनकवि केशरी’ को पदवी दिएका थिए ।

थापाले प्रवासमा पनि नेपाली लोक संगीतका विभिन्न कार्यक्रममा गीत गाएका थिए । ज्ञानुका अनुसार उनी नेपाली गीतको प्रचार गर्न दार्जिलिङ, आसाम, गुवाहाटीलगायतका स्थानसम्म पुग्थे । २०२५ सालमा मङ्गली कुसुम कृतिका लागि थापा मदन पुरस्कारबाट पुरस्कृत भएका थिए । थापाकाे शब्द तथा स्वर रहेका ‘आज मादल बजेको किन ? कालीपारी दाइ कति राम्रो, साइँलीरिमै, सिरिमा सिरी नि कान्छा बतास चल्यो, हरियो डाँडामाथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले’ जस्ता गीतहरू नेपाली लोकसंगीतका कालजयी गीत हुन् । 

प्रतिक्रिया

TOP