सिभिल सहकारी घोटाला प्रकरण : इच्छाराजकी पत्नी पक्राउ

काठमाडौँ — सिभिल सहकारीको बचत हिनामिना गरेको कसुरमा फरार रहेकी सिभिल सहकारीकी लेखा समिति सदस्य सिर्जना शाक्य (तामाङ) पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ५७ वर्षीया तामाङलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनलाई सीआईबीले जिल्ला अदालत काठमाडौं बुझाइएकोमा अर्को आदेश नभएसम्मका लागि कारागारमा पठाइएको छ । पक्राउ परेकी तामाङ सिभिल सहकारीका संस्थापक अध्यक्ष तथा मुख्य आरोपित इच्छाराज तामाङकी पत्नी हुन् ।

सहकारीमा जम्मा गरेको ५ अर्ब ८४ करोड ४० लाख २१ हजार ७ सय १३ रुपैयाँ हिनामिना गरेको कसुरमा तामाङ र उनकी पत्नी सिर्जनासहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराध अभियोगमा २०७८ मंसिर १७ मा अदालतमा मुद्दा दायर भएको थियो । यो प्रकरणमा १२ जना पक्राउ परिसकेका छन् ।

१ हजार ५ सय ३० जनाले सिभिल सहकारीका सञ्चालक तामाङ र उनकी पत्नी सिर्जनासहितलाई प्रतिवादी बनाएर दायर भएको मुद्दा विचाराधीन छ । मुख्य आरोपित तामाङ अहिले पुर्पक्षका क्रममा कारागारमा छन् । तर, ठगी आरोप लागेपछि अनुसन्धानमा तानिएकी सिर्जना फरार भएकी थिइन् । उनीविरुद्ध २०७८ पुस २७ मा पक्राउ पुर्जी जारी गरी खोजबिनअघि बढाइएको थियो ।

सीआईबीले तत्कालीन अध्यक्ष तामाङलाई २०७८ असोज १८ मा पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो । त्यसपछिको अनुसन्धानमा ठगीविरुद्ध सयौं पीडितले सीआईबीमा उजुरी दिएका थिए । त्यस क्रममा तामाङसहित ११ जना पक्राउ परेका थिए ।