टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौँ– टोकियो ओलम्पिकमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गतको शनिवार छनोट चरणमा महिलातर्फ सुटिङमा १० मिटर एयर राइफलमा कल्पनाले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

कल्पनाले छनोट चरणमा ६ सय १६.८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । नेपालमा भएको १३ औँ सागमा ६ सय १४.५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी कल्पनाले टोकियो ओलम्पिकमा आफ्नै नामको कीर्तिमान भङ्ग गर्दै अर्को राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

राष्ट्रिय कीर्तिमान बनाउने क्रममा कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.०, चौथोमा १०४.१, पाँचौँमा १०३.४ र छैटौँमा १००.७ अङ्क जोडिन् । तर फाइनलमा भने पुग्न सकिनन् । उनी ५० खेलाडी रहेको छनोट चरणमा ४६ औँ स्थानमा रहिन् । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् ।

कल्पनाले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । उनले त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएकी थिइन । छात्रवृत्तिमा ओलम्पिक तयारी गरेकी थिइन् ।

नेपालबाट टोकियो ओलम्पिकमा ४ खेलका लागि ५ खेलाडी सहभागी छन् । अब ४ खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *