ऋषि अधिकारीको कविता “यो शहर”

यो शहर

रंगीचंगी फुलहरु मिश्रित बगैचा जस्तो यो शहर
हजार सपनाहरू बोकि आउछन् यात्री हरप्रहर
रहर र बाध्यताको थलो जस्तो लाग्ने कताकता
पिडा धेरै अनि खुशी थोरै दिने बिरानो यो शहर!

हेपिने र चेपिनेको चीत्कार सुन्ने फुर्सद नभएको
भोको पेटको पिडा बुझ्ने फुर्सद पनि नभएको
रोगी अनि बेसाहाराहरुको कुनै आवाज नसुन्ने
यकपाखे भै आफ्नै भजन गाइरहने यो शहर !!

मिठा-मिठा आश्वासनहरुले भरिपुर्ण रहेको
फगत मिथ्यालाई यकोहोरो ताली बजाइरहने
सत्यलाई झुठका पुलिंदाहरु बाट लडाइ रहने
पर्दा भित्रको जादुमयी रङ्गमंच जस्तो यो शहर!

कालो पतित कर्मलाई फुलमालाले पुरस्कृत गरिने
झेल अनि तिक्डमहरु लाइ जयजयकार गरिने
कलिला फुलहरुको बास्ना लुटींदा मौनता साध्ने
हाय! कति लाचार,कति निर्मम छ है यो शहर?

हिजोको सत्यलाई आज झुठ देखाई पस्किन
हिजैको झुठलाई सीता सावित्री बनाई शुद्धयाउन
केवल उद्दत छन् ति बेतुकका कर्मी भरियाहरु
कतै ठुलो निस्सासिंदो कैदघर त होईन यो शहर ?

लोकको मृत्युमा फाइदै फाइदाका चाङ भेट्ने
आवाजबिहिनका आवाजलाई कमजोरी देख्ने
कतिन्जेल तिमि मौनता सांधीरहन्छौ हर प्रहर,
अब त अति नै ढिला भयन र फेर्न यो शहर ?

जाली चिप्लो लोलि बोलीमा लगाम लगाउन
थिचोमिचो बाट उन्मुक्त भई माथी आउन
भ्रष्ट नियतहरुलाई थुन्ने गरि बिर्को लगाउन
के जुरुक्क जुरमुराउंदै जाग्नु पर्दैन र यो शहर?

कवि: ऋषि अधिकारी
(अधिकारी नारायणी नमुना माध्यमिक विद्यालय
भरतपुर, चितवनका शिक्षक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *