“हस्पिटलले ज्वरोका विरामी फिर्ता गर्दा हामी संक्रमितको उपचारमा व्यस्त थियौं ।”: डा. पौडेल

विश्व नै कोरोना भाइरस संक्रमणको कारण आक्रान्त छ । विश्वको पुरा शक्ति कोरोना भाइरस विरुद्ध लडीरहेको छ । यसको उपचार पद्धति आफैमा अन्योलमय रहेको छ । न औषधी न त कुनै भ्याक्सिन नै छ । गण्डकी प्रदेश पुर्वी नवलपरासीको देबचुली नगरपालिका रजहरमा अवस्थित मध्यविन्दु जिल्ला अस्पताल अन्तरर्गत कोभिड १९ अस्थाई अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयले भने कोरोना संक्रमितका विरामीहरुको सफल उपचार गराईरहेको छ । देशकै नमुनाको रुपमा रहेको प्राकृतिक चिकित्सालयमा न त कुनै भेन्टिलेटर छ न त कुनै सुविधा सम्पन्न मेडिकल ल्याब छ । तर उक्त चिकित्सालयले प्राकृतिक उपचार पद्धातिबाट कोरोना संक्रमणका विरामीहरुको सफल उपचार गराउँदै आएको छ । उक्त चिकित्सालयका निर्देशक डा. विनोद पौडेलसंग आवाज टाईम्स प्रतिनिधि प्रदिप पराजुलीले चिकित्सालयमा नै गएर गर्नुभएको विषेश कुराकानी :

चिकित्सालयबाट कति जनालाई सेवा दिईसक्नुभयो ?

हामीले अहिले सम्म ८०० जनाको सफल उपचार गराईसकेका छौ । अहिले चिकित्सालयमा जम्मा २५ जना रहनुभएको छ । जसमध्ये १ जनालाई अक्सीजन दिएर उपचार भईरहेको र अन्यको अवस्था सामान्य रहेको छ ।

कति उमेर समुहका विरामी आउनुभएको छ ?

हामीसंग २ बर्ष देखि ८८ बर्ष सम्मका व्यक्तिको सफल उपचार गराईसकेका छौं । यस बिचमा मुटुको सर्जरि गरेको ५ दिनका विरामी, चार जना गर्भवती महिला र थुप्रै दिर्गरोगीहरुको पनि सफल उपचार भईसकेको छ ।

चिकित्सालयको सिट क्षमता कति रहेको छ ?

यो प्राकृतिक चिकित्सालयको कार्यालय, फिजियो थेरापी र आवासको लागी प्रयोग भएको भवन हो । पछि यसलाई कोरोना संक्रमितको उपचारको लागि प्रयोग गरिएको हो । सुरुमा ४० सिट क्षमताबाट संचालन गरिएको चिकित्सालय अहिले क्षमता बढाएर २५० सिट क्षमता बनाईको छ । हामिले एकै पटकमा २१५ जनासम्म संक्रमितलाई राखेर उपचार गराएका थियौं ।

संक्रमितको संख्या दिनानुदिन बढ्दै छ के भन्नुहुन्छ ?

चिकित्सालय परिसरमा योग अभ्यास गराउदै निर्देशक डा. बिनोद पौडेल

कोरोना टेष्टको गति सुस्त छ । ठुलो संख्यामा टेष्ट भएमा संख्या अझै धेरै बढ्ने निश्चित छ । तर कोरोना पत्ता लगाउनु मात्र ठुलो उपलब्धि होईन । उपचार र उपचार पद्धति ठुलो कुरा हो । जुन हाम्रो देशमा प्रयाप्त मात्रामा गर्न सकिएको छैन ।

सफल उपचार पाईसकेका र नयाँ संक्रमितहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

विरामीहरुको सन्तुष्टि नै मेरो सफलता हो । नयाँ जिवन पाएको भन्दै धन्यवाद दिनुहुन्छ । उपचारबाट सन्तुष्टि मिलेको प्रतिक्रिया दिनुहुन्छ । उहाँहरुको सन्तुष्टिले मलाई आनन्द महशुस हुन्छ । कोरोनाको खास औषधि उपचार छैन । मानसीक रुपमा सकारात्मक भएमा पनि धेरै विरामी निको हुने तथा अवस्था सामान्य हुने गर्दछ । प्रायः संक्रमण पुष्टि भएपछि विरामी अत्तालिने भएकोले विरामीमा तापक्रम बढ्नुका साथै थप पिडा हुने गर्दछ । विरामीको मानसिक रुपमा पनि उपचार हुनु अत्यन्तै आवस्यक छ ।

स्वास्थ्य क्षेत्रमा अगाडि भएका विश्वका धेरै देशमा मृत्युहुनेको संख्या पनि धेरै देखिन्छ । ति देशको तुलनामा नेपालमा मृत्युदर कम देखिएको हो ?

विश्वका ति देशहरु जहाँ क्यान्सर लगाएतका धेरै दिर्गरोगीको सफल उपचार हुन्छ । मेडिकल सुविधा छ । औषधि उपचार छ । त्यसैले दिर्गरोगीहरुको संख्या पनि धेरै छ । तर नेपालमा रोग पहिचान हुन नै समय लाग्छ । पहिचान भईहालेमा पनि धेरै समयपछि हुँदा रोगले च्यापीसकेको हुन्छ । आर्थिक अवस्था तथा आवस्यक ज्ञानको कमीले गर्दा समयमा सहि उपचार गराउन सकिदैन । सबै दिर्ग रोगीको नेपालमा नै उपचार संभब नहुन सक्छ । विकशित देशमा लैजान नसकिने अवस्थाले हाम्रो देशमा दिर्गरोगीका विरामीहरु धेरै छैनन । कोरोना भाईरसले प्रायः दिर्गरोगीहरुलाई स्वास्थ्यमा बढी समस्या ल्याउने भएको र तुलनात्मक रुपमा पनि विदेशमा भन्दा नेपालमा दिर्गरोगी कम भएकोले मृत्युदर कम भएको हो । यो भनिरहँदा कोरोना संक्रमित दिर्गरोगीको उपचार नै नहुने भन्ने होईन र दिर्गरोग नभएकाहरुलाई कोरोनाले केहि गर्दैन भन्न मिल्दैन । हामिले धेरै दिर्गरोगी भएका कोरोना संक्रमितहरुको सफल उपचार गराईसकेका छौं ।

चिकित्सालय परिसरमा योग अभ्यास गराउदै निर्देशक डा. बिनोद पौडेल

एक नयाँ कोरोना संक्रमितलाई तपाईले दिन सुझाब सल्लाह के हुन्छ ?

संक्रमित भएपछि टंङ किस नगर्नुहोस् । हाच्छिउ गर्दा खुल्ला रुपमा नगर्नुहोस्, जसबाट अन्यमा सर्नबाट रोक्न सकिन्छ । संक्रमितले चिसो, चिल्लो र गुलियो कुराहरु खान बन्द गर्नुहोस् । मिठाईजन्य कुराहरु नखानुहोस् । मह तथा फलफुल खान मिल्छ । रुगाखोकी छ भने केरा नखानुहोस् । योग गर्नुहोस् । दिनको तिन पटक विहान, दिउँसो, बेलुका नुनपानिले कुल्ला गर्नुहोस् । सकिन्छ भने नाक भित्र पानी राखेर जलनेति गर्ने,नभए नाकभित्र नुनपानिले सफा गर्ने । दिनको तिन पटक बाफ लिने । बाफ लिदा किँटाणुहरुलाई मार्ने खालको इफेक्ट भएको तुलसी, निम जस्ता जडिबुटीहरुको प्रयोग गरेर अनुहार नढाकीकन लिने जस्ता क्रियाकलापहरु गर्नुपर्ने हुन्छ । आत्तिनु हुँदैन । स्वास्थ्यमा समस्या देखिएमा नजिकैको कोरोना हस्पिटल तथा चिकित्सकको सम्पर्कमा रहनुहोला ।

जताततै कोरोना लागेमा बाँचिदैन भन्ने एक खालको हल्ला फिजिरहेको अवस्था, संक्रमितको लास व्यवस्थापनमा समेत अवरोध भएको अवस्थामा प्राकृतिक चिकित्सालयमा तपाई माक्स खोलेर संक्रमितको माझमा रहनुभयो । कसरी आँट गर्नुभयो ?

नवलपुर नयाँ जिल्ला हो । पुर्वाधारको कमि भएको ठाउँ पनि हो । सायदै प्राकृतिक चिकित्सालयले कोरोना संक्रमितको उपचार गर्न पाउने थिएन । पोखरा जस्तो जिल्लामा लास व्यवस्थापनमा अवरोध भयो । ज्वरोका विरामीहरुलाई हस्पिटल तथा मेडिकल कलेजहरुले गेटबाटै फिर्ता गरिरहँदा हामी माक्स खोलेर विरामीलाई योग गराईरहेका थियौं । जहाँ भौतिक दुरी भने कायम नै गरिएको थियो । मैले यो भनिरहँदा माक्स लगाउन नपर्ने रहेछ भन्ने सन्देश दिन खोजिएको होइन । हामीले अपनाएको विधि र पद्धितीमा हामी कोरोना फैलिदैन भन्नेमा निस्चिन्त थियौं । लक्षण नभएका भन्दा लक्षण सहितको संक्रमितबाट फैलिने सम्भावना अधिक हुन्छ । कोरोना नयाँ भाईरस थियो ।

हामीले अपनाएको पद्धितिले सुरुदेखि नै राम्रो काम गरेको थियो । हाम्रो उपचार पद्धितीले संक्रमितलाई खराब अवस्थामा लगेन । केही गरि भाईरस फैलिएको भए र संक्रमितलाई निको नभएको भए हामी अगाडि बढ्न गाह्रो हुने थियो । चिकित्सालय बन्द गर्नुपर्ने अवस्था पनि आउने थियो । तर त्यस्तो भएन । अहिलेसम्म हामीले सफल उपचार गरिरहेका छौं । हामीसंग आएका संक्रमित उपचारको लागि भेन्टिलेटरमा राख्नुपरेको छैन । मृत्यु शुन्य छ ।

समुदायको बिचमा कोरोना संक्रमितको उपचार गराईरहनुभएको छ । कस्तो सहयोग पाईरहनुभएको छ ?

रजहरमा यहाँका स्थानियहरुले कोरोनाका विरामीको उपचार गराउने प्रस्तावलाई स्वीकार गर्नुभयो । सुरुको समयमा स्थानिय निकायले पनि संक्रमितको व्यवस्थापन गर्न सकेन । स्थानिय निकायबाट संक्रमितहरु लाई बलेरो गाडिमा कोचाकोच गरि ल्याउने गरियो । बसमा जन्ती आए जसरी संक्रमित आए । त्यो देख्दा स्थानिय केहि व्यक्तिबाट प्रश्न उठ्यो । हावाबाट सर्छ भनेर समाचारहरु आईरहँदा प्रश्न उठ्नु स्वभाविक पनि हो । संक्रमित धेरै ल्याउदा समुदायमा जोखिम हुन्छ । पछि यस्ता कुराहरुको समधान तर्फ स्थानिय निकायहरु सचेत रहनुभयो ।

चिकित्सालय संचालन भएपछि समुदाय तथा अन्य ठाउँबाट आएका समस्या आप्ठेराहरु केहि छन् ?

समुदायबाट सहयोग निरन्तर नै छ । एक समय चिकित्सालयमा कार्य गर्ने सुरक्षाकर्मी चिया पिउन समुदायको चिया पसलमा जानुभएछ । मलाई समुदायको कुनै एक जनाले रातको समयमा फोन गरेर सो कुराको जानकारी सहित भोली चिकित्सालय घेराउ गर्ने बताउनुभयो । मैले त्यस्तो रहेछ भने सच्चाउन लगाउने कुरा गरे तर उहाँहरु घेराउको लागि आउनुभएन । त्यस्तै चिकित्सालयको गाडिलाई कोरोना गाडि आयो भन्दै लुक्ने गर्दथे । एम्बुलेन्समा पर्दा लगाएर रातको समयमा संक्रमित ल्याउदा पनि कति मरेका हुन भन्ने आवाज सुनिन्थ्यो । अझ भारतबाट नेपाल आएका एक संक्रमितको बुबा वितेको खबर आयो । उहाँले बुबालाई नभेटेको धेरै भएकोले अनुहार हेर्ने इच्छा व्यक्त गर्नुभयो । हामीले प्रमुख जिल्ला अधिकारी, स्थानिय निकायसंग कुरा गरेका थियौं । हामी उहाँलाई पिपिई लगाएर एम्बुलेन्समा पठाउने तयारीमा हुँदै गर्दा उक्त ठाउँका वडा अध्यक्षको फोन आयो र उहाँले उक्त संक्रमित आएमा यहाँको समुदाय , आफन्त कोहि अन्तिम संस्कारमा सहभागि नहुने बताएपछि हामीले पठाउन सकेनौ ।

हालसम्म संक्रमितको उपचारमा कति रकम खर्च भएको छ ?

भौतिक पुर्वाधार, उपचार, खानपान, कर्मचारीको तलब व्यवस्थापन समेतको खर्च १२५७६७९५/- (एक करोड पच्चिस लाख छयत्तर हजार सात सय पन्चानब्बे) रुपैयाँ मात्र रहेको छ । सरकारको तलब सुविधा नभएको हुँदा कर्मचारीको तलब सुविधा समेत यसै खर्चमा समाबेस रहेको छ । कर्मचारी, सुरक्षाकर्मीको खानपानको व्यवस्थाका साथै इमरजेन्सी युनिटमा हुने व्यवस्थापन खर्च समेत यसैभित्र पर्दछ ।

कुन कुन निकायबाट सहयोग र समन्वय प्राप्त गर्नुभएको छ ?

मध्यबिन्दु जिल्ला अस्पतालसंगको सहकार्य सबैभन्दा महत्वपुर्ण रहयो । जनस्वास्थ्य कार्यालय, देबचुली नगरपालीका तथा ८ ओटा नगर तथा गाउपालिकाबाट सहयोग छ । त्यस्तै लुथरन वर्ल्ड रिलीफ, सहमति पनि सहयोगी संस्था हुनुहुन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले पनि निरन्तर यस चिकित्सालयबारे चासो व्यक्त गर्नुभएको छ । उद्योगपती तथा सासंद विनोद चौधरी चिकित्सालयमा नै आएर सहयोग गर्नुभएको छ । लायन्स क्लब, रोटरी क्लबहरुले फलफुल तथा इन्जिनियरीङ एसोसियसनबाट खेलकुदका सामग्री प्राप्त भाएको छ । व्यक्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु धेरै हुनुहुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

अझै यस चिकित्सालयमा सरकारी दरबन्दिका चिकित्सक, ल्याब, एक्सरे लगाएतका सेवा सुविधा थप गर्न सकिएमा खर्च कम गरि थप सफलता र प्रभाबकारी हुने थियो । सबैको साथ सहयोग तथा सामुहिक कार्यले हामी यहाँसम्म आएका हौं । हालसम्म प्राकृतिक चिकित्साविधी कोरोना संक्रमितको उपचारको लागि फलदायी बनेको छ । विगतका समयहरुमा जस्तै निरन्तर सहयोग र समन्वयको अपेक्षा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *