रेमिट्यान्सको लोभमा युवालाई विदेश कहिलेसम्म पठाउने

बाग्लुङको बिहुँमा जन्मेर अमेरिकाको टोलिडो विश्वविद्यालयबाट पूर्ण छात्रबृत्तिमा जियो टेक्निकल इन्जिनेरिङ्गमा स्नातकोत्तर गरेका इन्जिनियर खगेन्द्र कँडेल हाल क्यानडामा इन्जिनेरिङ्ग कम्पनीमा काम गर्नुहुन्छ । समाजसेवामा गहिरो रुची राख्ने कँडेल ग्लोबल हुमनटेरियन एडको बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ । नेपालमा इन्जिनेरिङ्ग पेशा सँगसँगै विभिन्न विश्वविद्यालय तथा कलेजमा अध्यापन समेत गराउनु भएका प्रतिभाशाली युवा कँडेलसँग आवाज टाइम्सका प्रतिनिधिले समसमायीक विषयमा गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

१. तपाई हाल के गर्दै हुनुहुन्छ ?

अमेरिकामा अध्ययन पश्चात म अमेरिका र क्यानडाका विभिन्न इन्जिनेरिङ्ग कम्पनीमा ३ वर्षदेखी काम गर्दै आएको छु र अहिले क्यानडामा एउटा इन्जिनेरिङ्ग कम्पनीमा काम गर्दैछु । समय मिलाएर ग्लोबल ह्युमनटेरियन एडको परियोजना र कार्यक्रम व्यवस्थापनको क्षेत्रमा समेत संलग्न छु ।

२. नेपाल र क्यानडामा काम गर्दा तपाइको अनुभव कस्तो रह्यो ?

नेपालमा काम गर्दा कागजी रुपमा सहि सलामत भएपनि व्यवाहारिक रुपमा कमसल काम र निम्न गुणस्तरिय सामाग्री प्रयोग भएको पाइन्छ । जसले गर्दा भौतिक संरचना कम गुणस्तरीय हुनुका साथसाथै तीनको आयु पनि डिजाइन लाइफ भन्दा धेरै कम हुने गरेको छ । त्यसको ज्वलन्त उदाहरण निर्माणाधिन अवस्थामा भौतिक संरचना, (पुल, सडक तथा भवन) बन्दा बन्दै भत्कीनु, निर्माण सम्पन्न भएको छोटो समयमै भत्कीनु सामान्य जस्तो भएको छ । ठेकदारको लापरर्वाही, कमिसनतन्त्र तथा भ्रष्टाचारले गर्दा गुणस्तरहिन विकासलाई प्रोत्साहन गरेका छन् । डिजाइन अनुसार प्राविधिकलाई पनि प्रभावमा पार्ने गरेको पाइन्छ । तर त्यसको विपरित क्यानडामा जुनसुकै संरचना निर्माणमा इन्जिनेरिङ्ग डिजाइन भन्दा कुनैपनि कुरा तलमाथि गर्न पाइदैन । भौतिक संरचना निर्माणका क्रममा केही कुरा परिर्वतन गर्नुपर्ने भएमा उक्त परियोजना सँग सम्बन्धित सम्पूर्ण प्राविधिकको अनुमति लिनुपर्दछ । यदी डिजाइन अनुसार काम नभएको पाइएमा उक्त परियोजना निर्माणमा सम्बन्धित संस्था (डेकेदार) कारर्वाहीमा पर्नुका साथै ठूलो मुल्यको जरिवान तिर्नुपर्ने हुन्छ । यी प्रावधानले गर्दा क्यानडामा सम्पन्न हुने परियोजनाहरु गुणस्तरिय हुने गरेका छन् । मौसमको कारण भौतिक पूर्वाधारसँग सम्बन्धित इन्जिनेरिङ्ग काम क्यानडामा गाह्रो हुन्छ ।

३. ग्लोवल ह्युमनटेरियन एडले के काम गर्छ ?

ग्लोवल ग्लोवल ह्युमनटेरियन एड एक गैर नाफामुलक, गैर राजनीतिक एवं गैर धार्मिक प्रकृतिको विपद व्यवस्थापन तथा मानवीय सेवाको क्षेत्रमा काम गर्ने अन्र्तराष्ट्रिय सामाजिक संस्था हो । अहिले कोभिड–१९ विश्वव्यापी महामारीले आक्रान्त पारिरहेको सन्दर्भमा हाम्रो संस्थाले पनि नेपाल र अफ्रिकामा कोरोना प्रभावित नागरिक र फ्रन्टलाइनर्सहरुलाई पिपिई लगाएतका सुरक्षा सामाग्री वितरण गरिरहेको छ । आगाी दिनमा विपद व्यवस्थापन र मानवीय सेवाका क्षेत्रमा रचनात्मक काम गर्ने योजना छ । विश्वभरी नै एडका स्वयंसेवक साथीहरुले मानवीय सहायतको क्षेत्रमा काम गरिहनु भएको छ ।

४. तपाई जस्तै युवा प्रतिभा पलायन हुदै जाने हो भने देश कसरी विकास होला ? तपाईको नेपाल आउने योजना के छ ?

अहिले नेपालको ठूलो समस्या भनेको युवा बेरोजगारी र प्रतिभा पलायन नै हो । देशको अस्थिर राजनीति र सरकारको युवालाई विदेश पठाई रेमिट्यान्स देश चलाउने सोच भएसम्म युवाको विदेश मोह बढिरहन्छ । अधिकाशं युवा अमेरिका, क्यानडा लगायतका विकसित देशमा आउने चाहाना राख्दछन् र आएपछि यहाँ प्राप्त हुने रोजगारीका अवसर तथा भौतिक सुविधामा लोभिएर यतै बस्ने गरेका छन् । जहाँसम्म मेरो हकमा यहाँको उच्चस्तरिय ज्ञान तथा प्रविधि सिकेर नेपालमा नै फर्कि आफुले सिकेका कुराहरुलाई मातृभूमीको सेवामा लगाउने मेरो योजना छ । नेपाल फर्केर समाज सेवाका अतिरिक्त आफ्नै पेशा र व्यवसायमा नविन योजनाका साथ युवाहरुलाई संलग्न गरी काम गर्ने योजना समेत बनाएको छु ।

५. अन्तमा तपाइलाई केही भन्नु छ ?

दक्ष र क्षमतावान युवाहरुलाई रेमिन्यान्सको लोभमा विदेश पलायन गराउने सरकारी नीति र सोचको अन्त्य गरी देशमै रोजगार तथा स्वरोजगारका अवसर सृजना गर्नुपर्दछ । साथै उच्च शिक्षाको बहानामा विदेशिएका युवाहरुपनि अध्ययन पश्चात आफ्नो ज्ञान तथा सिप लिएर देशमा नफर्किए सम्म देश समृद्ध हुदैन । त्यसैले मैले युवाहरुलाई देशमै अवसर र सम्भावना खोजी गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *